ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण



रविन भट्टराई, ताप्लेजुङ
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुंगो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए।

वि.सं. २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा योपटक ८ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र थप गरिएका छन्। थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन्। त्यस्तै, गंगा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुंगेसाँघुमा पनि मतदान स्थल रहने गरी सिफारिस गरिएको अधिकारीले जानकारी दिए।

समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ। नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुंगेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उनले बताए। गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ। त्यस्तै, मतदातालाई पाँच किमिभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताए। ‘तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसंख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको’ उनले बताए।

प्रतिक्रिया दिनुहोस्