स्थानीय मदिराको प्रयोगमा कमी



नेपाल समाचारपत्र
पाल्पा

केही सयम अघिसम्म पाल्का केही गाउँ हिजोआज गाउँले मदिरा अर्थात् स्थानीय भाषामा लोकल रक्सी उत्पादन हुने गाउँका रूपमा चिनिन्थे। प्रहरीले बेलाबखत मदिरा रोक्ने प्रयास पनि असफल थियो तर आजभोलि धेरै हदसम्म यो कार्य कम हुँदै गएको छ। पहिले प्रहरी प्रशासनले यस विषयमा खासै चासो नदेखाउँदा यसबाट सिर्जित समस्याले धेरैलाई पिरोलेको थियो तर पछिल्लो समयमा प्रहरीलाई स्थानीय जनताले साथ दिएपछि यो कार्यमा कमी आउन थालेको छ।

सजिलै बनाउन सकिने यस प्रकारको मदिराबाट पाल्पामा धेरै महिलाले यसैलाई जीविकोपार्जनको दरिलो माध्यम बनाएको भए पनि स्थानीय महिला समूहको सक्रियतामा उनीहरू आजभोलि यो कार्य छाडेर वैकल्पिक पेसातर्फ लागेका देखिन्छन्।

आजभोलि चाडपर्व र त्यस्तै विशेष बेला मात्रै मदिरा हुने गरेको छ। मकै, कोदो, चामल आदिबाट मदिराको उत्पादन हुने एकातर्फ अन्नको नाश गराएको छ भने अर्काेतिर यसको प्रयोगबाट जनस्वास्थ्यमा नकारात्मक असर पनि देखा पर्ने हँुदा मानव स्वास्थ्यका लागि मदिरा हानिकारक छ। गाउँले मदिरा नगदमा कारोबार हुने र राम्रै मूल्य पाउन थालेकाले कुनैकुनै गाउँमा त मदिरा उत्पादनले व्यावसायिक रूप नै पाउन थालेको थियो तर पछिल्लो समयमा यस कार्यमा कमी आएको स्थानीयको भनाइ छ।
दोभान, कचल, जल्पा, चिर्तुङधारा, मस्याम, कोलडाँडा, अर्चले, मित्याल, देवीनगर, बहादुरपुर, खानीगाउँ, खानीछापलगायतका एक दर्जन गाविसमा व्यावसायिक रूपमा घरेलु मदिरा उत्पादन हुने गरेकोमा अहिले निकै कमी आएको कोलडाडाकी रूपा थापाले बताइन्।

शहरमा घरेलु मदिराको कारोबारमा केही निगरानी भए पनि गाउँघरमा यसको खुला रूपमै घरेलु मदिराको कारोबार हुने गरेकोमा अहिले यस्तो नभएको बताइन्छ। यही पेसा गरेर जीविकोपार्जन गर्नेहरू पछिल्लो समय तरकारी खेती, कुखुरा, बाख्रा र बंगुरपालनतर्फ आकर्षित हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्