कुबेत जान लागेकी बालिकाको उद्धार



सीताराम चौधरी,कपिलवस्तु  ।

भारतको बाटो हुँदै कुबेत जान लागेकी एक बालिकालाई कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्रबाट उद्धार गरिएको छ ।

के.आई. नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले सल्यान फालाबाङ्गकी १५ वर्षीय सीता लाई उद्धार गरेको हो । केआई र प्रहरीको संयुक्त टोलीले बालिकालाई सीमा कटाउने एक बिचौलीयालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी फन्दामा परेकी विचौलिया रोल्पा झेनाम २ की ४० वर्षीय बादी वि.क. रहेकी छन् । बालिका तस्करीमा संलग्न दुई बिचौलिया भने फरार रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभयो ।
उद्धार गरिएकी बालिकालाई शोभा राई नामकी एक विचौलियाले कुबेतमा राम्रो कमाई हुने प्रलोभनमा पारी भारततर्फ पठाउन लागेको बुझिएको छ । बालिकाको बयान अनुसार दाङको बिजौरीमा मेला हेर्न जाँदा केही महिनाअघि शोभा राईसँग परिचय भएको हो ।

केही समयअघि शोभाले आफ्नी भाउजुसँग चिनजान गराई कुबेतको लागि काठमाडौं बोलाएर केहि दिन होटलमा राखेको पीडित बालिकाले बताइन् । विचौलिया शोभा राईले एकजना ड्राइभरसँग चन्द्रौटासम्म पठाएको र चन्द्रौटामा बादी वि.क. आफूलाई लिन आएको बालिकाको बनाईलाई उदृत गर्दै केआई नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले बताउनुभयो ।

चन्द्रौटाको होटलमा एक रात राखेर अर्को दिन बिहानै कृष्णनगरको सीमा कटाउने क्रममा बालिकाको उद्धारसहित बादी वि.क. पक्राउ परेकी हुन् ।
बालिकालाई ढाँटछल गरी भारतको दिल्ली हुँदै कुबेत पठाउन खोज्नु सरासर गलत भएको केआई संयोजक विश्वकर्माको बुझाई छ । जुन तपरिकाले एकअर्कामा हस्तान्तरण गर्दै कृष्णनगरसम्म ल्याइएको हो, बेचबिखन गर्ने मुख्य उद्देश्य भएको स्पष्ट देख्न सकिने विश्वकर्माले बताउनुभयो ।
पक्राउ परेकी बिचौलिया विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्धा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभयो । घटनामा अन्य दुई जना प्रत्यक्ष संलग्न देखिएको र हाल फरार रहेको विचौलियाको खोजअनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

उद्धार गरिएकी बालिकालाई हाल केआई नेपाल कपिलवस्तुको संरक्षणमा राखिएको केआई संयोजक विश्वकर्माले जानकारी दिनुभयो । अभिभावकसँग सल्लाह लिई सहमति भए केआई नेपालको सुरक्षित गृह चितवन पठाइने विश्वकर्माले बताउनुभयो । सहमति नभए अभिभावकको जिम्मा अभिभावकको जिम्मा लगाई घर फिर्ता पठाउने उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्