एकल महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोँचको खाँचो



सीताराम चौधरी,कपिलवस्तु ।

एकल महिलालाई आत्मसम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सृजना गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरस्थित सुपादेउराली मन्दिर परिसरमा आयोजित ‘एकल महिला कानुनी सचेतना अभिमुखीकरण’ का सहभागीले सो कुरामा जोड दिएका हुन् । एकल महिलाहरु समाजमा विभिन्न किसिमका घरेलु हिंसाका सिकार हुनुपरेको औल्याउँदै वक्ताहरुले एकल महिलालाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले महिला हिंसा न्यूनीकरणका लागि शिक्षा र चेतनाको खाँचो रहेको औल्याउनुभयो । राज्यबाट महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न ठूलो प्रयास भइरहेको बताउँदै हरेक व्यक्तिको सोँचमा परिवर्तन ल्याउनुपर्ने शाखा अधिकृत अर्यालले जिकिर गर्नुभयो ।

एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म हिंसाका घटनामा कमी नआउने सामाजिक न्यायका लागि एकल महिला संजाल शिवराज नगर अध्यक्ष भगवती के.सी.को दाबी छ । राज्यले एकल महिलालाई व्यवसायिक बनाउन सीपमूलक कार्यक्रमका साथै आयआर्जनको अवसर सृजना गर्नुपर्ने एकल महिला संजालकी अध्यक्ष के.सी.ले माग गर्नुभयो ।

अभिमुखीकरणमा सहजीकरण गर्दै अधिवक्ता शम्भु सेन र महिला अधिकारकर्मी मीना परियारले एकल महिलालाई समाजमा आत्मसम्मानपूर्वक बाँच्ने वातावरण कायम गर्न सबै चौतर्फी सहयोगको खाँचो रहेको औल्याउनुभएको थियो । महिला अधिकारकर्मी परियारले एकल महिलाहरु विभिन्न बहानामा हिंसाका सिकार हुनुपरेको दर्शाउँदै सहज वातावरण बनाउन सबैले सहयोग गर्न अपिल गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद ढकाल, नेपाली कांग्रेसका हरिप्रसाद पोख्रेल, नेकपा एमालेका अर्जुन के.सी., राप्रपाका युवा नेता अजय थापा, नयाँशक्तिका शुभाषचन्द्र जयसवाल, शिवपुर लैंगिक हिंसामुक्त नमूना अभियानका उपाध्यक्ष जगतबहादुर जिसी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति विष्णुप्रसाद खतिवडा,सामाजिक विकास मञ्चका विष्णुप्रसाद अधिकारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती लगायतले एकल महिलाको हक अधिकार सुनिश्चित गराउन हरेक क्षेत्रबाट सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्