१६ बर्षपछि गाँउमा डाक्टर पुग्दा बाजागाजासहित स्वागत



बैतडी, विनोद सिंह विष्ट

बैतडीको मैलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा १६ बर्षपछि डाक्टर हाजिर भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

प्राथमिक स्वासथ्यकेन्द्र स्थापना भएको १६ बर्षपछि डाक्टर जीवन कार्की प्राथमिक स्वास्थ्यकेन्द्रमा हाजिर भएका हुन् । २०५६ सालमा स्थापना भएको प्राथमिक स्वासथ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी डाक्टर आएको केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रका हेल्थ असिष्टेन्ट मुकेश दयालले बताउनुभयो ।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि आफूहरु धेरै खुशी भएको स्थानीय समाजसेवी शंकरदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाटले बताउनुभयो ।

मेलौलीमा डाक्टर आएसंगै स्वासथ्यबीमाको सेवा समेत शुरु हुने भएको छ । स्वास्थ्यबीमा अन्तर्गत केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच डा.कार्कीलाई स्थानीयबासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् ।

१६ बर्षपछि आफ्नो गाउँमा डाक्टर पुगेपछि स्थानीयबासिन्दाले स्वतस्फूर्त रुपमा स्वागत रहेको हेल्थ असिष्टेन्ट मुकेश दयालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा डाक्टरको दरबन्दी परीपूर्तीका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयोे । उहाँले भन्नुभयो “सरकारसंग धेरै पटक अनुरोध गरेपछी बल्ल डाक्टर आएका छन् ।”

सरकारले चालु आर्थिक बर्षको पौषदेखि बैतडीमा स्वास्थ्यबीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्यबीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रलाई पनि सूचीमा राखिएको छ ।

स्वास्थ्यबीमको सेवा गत फागुनबाट जिल्लामा शुरु पनि भइसकेको छ । तर मेलौलीमा डाक्टर नभएका कारण सुचारु नभएको सेवा सुचारु हुने भएको छ ।

दक्षिण एसीयाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमी मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि डाक्टर नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन ।

प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछी समान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी,उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्