झापामा आइतबारै होली मनाइयो



नेपाल समाचारपत्र
भद्रपुर
तराईमा पर्ने सार्वजानिक बिदालाई हटाएर सरकारले पहाडसँग दाँजेर झापालाई आइतबार सार्वजनिक बिदा दिएपछि झापाबासीले फागु पूर्णिमा अर्थात् होली पर्व केहीले मनाएका छन् भने अधिकांशले सोमबार नै मनाउने भएका छन्।

सरकारले सार्वजनिक बिदा आइतबार दिएपछि झापामा रहेका सरकारी कर्मचारीले चन्द्रगढी क्षेत्रमा आइतबार होली मनाएका छन्। विशेष गरी सरकारी कर्मचारी र विद्यार्थीहरूले आइतबार होली मनाएका छन् भने अधिकांश झापालीले सोमबार नै होली मनाउने तयारीमा रहेका छन्। सरकारले सार्वजनिक बिदा सोमबार कटौती गरे पनि भद्रपुर, बिर्तामोड, धुलाबारी, काकरभिट्टा, दमकलगायतका मुख्य शहरमा सोमबार नै हर्षोल्लासका साथ होली मनाइने स्थानीयबासीको भनाइ छ। यी क्षेत्रमा सर्वसाधारण र व्यापारी आआफ्नै काममा व्यस्त देखिएका थिए।

पसल, बजार, उद्योग, कलकारखा खुला थिए। सरकारले यस वर्षदेखि झापालाई तराईबाट हटाएर पहाडसँग जोडेर बिदा दिएपछि स्थानीयबासी सरकारको निर्णयप्रति अन्योलमा परेका छन््।

नेपालमा धार्मिक परम्पराअनुसार पहाडमा मनाएको भोलिपल्ट तराईमा होली मनाउने चल्न चलिआए पनि यो वर्षबाट झापालाई पहाडसँग दाजेर सरकारले गरेको निर्णय नमानी झापालीले सोमबार नै होली मनाउने स्थानीय सञ्जीव पौडेलले बताए। नेपाल औषधि व्यवसायी संघ मेची अञ्चल शाखाका सचिव ससिम पोखरेलले सरकारले दिएको बिदा गलत भएको भन्दै यसलाई सच्याउन माग गरेका छन्। पहाडमा मनाएको भोलिपल्ट होली मनाउने चलन झापामा रहेकाले सरकारले हचुवाको भरमा बिदा परिवर्तन गर्न नमिल्ने उनले बताए।
पहाडी जिल्लामा मनाइने होली पर्वको भोलिपल्ट झापासहित तराईका २० जिल्लामा होली पर्व मनाउँदै आएको परम्परालाई सरकारले यस वर्षदेखि उल्टाइदिएको छ। तराईमा पर्ने २० जिल्लामध्ये १९ जिल्लामा होली पर्वको बिदा सोमबार हुनेछ। तर, झापालाई अल्गाएर सरकारले आइतबार होलीको बिदा दिएपछि कर्मचारी र विद्यार्थी पनि दोधारमा रहेर होली पर्वमा रमाएको पाइएको छ। मेची अञ्चल अस्पतालका कर्मचारी सागर कार्कीले सोमबार सार्वजनिक बिदा कटौती भएपछि आइतबार होली खेलेर रमाइलो गरेको सुनाए।

सरकारले गत २०७२ चैत १८ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेखबमोजिम नै जिल्ला प्रशासन कार्यालय झापाले आइतबार सार्वजनिक बिदा दिएको हो। सोमबार कार्यालय खुला हुने भएपछि सार्वजनिक बिदाकै दिन होली खेल्नुपरेको निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागार्इंको भनाइ छ। झापालाई पहाडसँग दाँजेर सार्वजनिक बिदा दिएकाले आइतबार कर्मचारीकै होली मात्र देखिएको र सोमबार झापाबासीले खेल्ने बुझिएको गुरागार्इंको भनाइ छ।

सोमबार सार्वजनिक बिदा नभएपछि झापाका सबै सरकारी कार्यालय र विद्यालय खुला रहनेछ। विद्यालय र कार्यालय खुला रहे पनि झापाबासी सोमबार नै होली मनाउने तयारीमा रहेका छन्। जसले, कर्मचारी र विद्यार्थी प्रत्यक्ष मारमा पर्नेछन्।

प्रतिक्रिया दिनुहोस्