अनलाइनबाटै खरिद बिक्रीको आदेश दिने व्यवस्था मिलाउन निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
शेयर खरिद बिक्री प्रक्रियालाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले अनलाइनबाटै खरिद बिक्री आदेश दिन सकिने व्यवस्था मिलाउन शेयर दलालहरूलाई निर्देशन दिएको छ।

बोर्डले लगानीकर्ताले धितोपत्र खरिद गर्न आदेश दिँदा ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्ताहरूलाई केवाईसीको आधारमा लगानीकर्ता स्वयम्लाई युजरनेम र पासवर्ड दिई इन्टरनेटमार्फत् खरिद बिक्री गर्न आदेश दिन सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। लगानीकर्ताले इन्टरनेटमार्फत् आफ्नो कारोबार विवरण हेर्न पाउने व्यवस्था गर्नसमेत भनेको छ।

शेयर दलालले हाल प्रयोग गरिरहेको स्वीकृत ब्रोकर ब्याक अफिस सफ्टवेयरमा सुधार गर्न पनि बोर्डले निर्देशन दिएको छ। यसैबीच बिहीबार नेप्से ५ दशमलब ९७ अंकले सुधार भई १३४७ दशमलब ५३ विन्दुमा पुगेको छ। कुल १३८ कम्पनीको ५२ करोड ४८ लाख रुपियाँ बराबरको शेयर कारोबार दिन उत्पादन र अन्य समूहबाहेक सबै समूह सकारात्मक रहेको छ। बिहीबार बजारमा ग्लोबल आईएमई बैंकको ९ करोड, नेपाल लाइफको करिब ६ करोड र एनसीसी बैंकको ४ करोडभन्दा बढीको कारोबार भएको छ। यसदिन आरएसडिसी लघुवित्त र नयाँ नेपाल लघुवित्त, अपि हाइड्रो, मिसन डेभलपमेन्ट, गुहेश्वरी मर्चेन्ट र अरूण भ्याली हाइड्रोलगायतका कम्पनीका लगानीकर्ता धेरै कमाउनेमा परेका छन् भने हिमालयन डिष्टलरी, काबेली विकास बैंक, यति विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्