परिवारकै सहमतिमा अन्तरजातीय विवाह



?

सीताराम चौधरी, कपिलवस्तु
नेपाली समाजले अन्तरजातीय विवाहलाई अहिले पनि पूर्णरूपमा स्वीकार गर्न सकेको छैन। अन्तरजातीय विवाह गर्ने जोडीमाथि सामाजिक बहिष्कार, भौतिक आक्रमण तथा मानसिक यातनाका समाचार आइरहेका हुन्छन्। पछिल्लो समयमा अन्तरजातीय विवाहलाई विस्तारै स्वीकार गर्दै गएको पनि पाइन्छ।

सरकारले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने कार्यक्रमसमेत ल्याएको छ। विडम्बना अन्तरजातीय विवाह गर्नेहरूका लागि अझै सहज वातावारण भने भइसकेको छैन। समाजको परम्परागत सोचलाई चिर्दै कपिलवस्तुमा एक अन्तरजातीय जोडीले धुमधामका साथ मागी विवाह गरेका छन्।

जिल्लाको गुगौली–४ लोहरौलाका तिन्कुराम थारू र पत्थरदेइया–८ त्रिपालनगरकी मञ्जु विकले परिवारकै सहमतिमा हाँसीखुसी धुमधामका साथ अन्तरजातीय विवाह गरेका हुन्। यसअघि केटाकेटीबीच कुनै चिनजान थिएन। केटा पक्षले केटीको घरमै हेर्न गई मन पराएपछि दुवै पक्षको सहमतिअनुसार विवाहको छिनोफानो भएको थियो। दुवै पक्षको सहमतिअनुसार थारू जातिका बेहुला र दलित जातिकी बेहुलीबीच सम्बन्ध गाँसिएको हो। बेहुलाले जन्तीसहित बेहुलीको घरमै आई हिन्दु संस्कृतिअनुसार धुमधामका साथ विवाह गरेका थिए।

उमेरले मञ्जु विक तिन्कुराम थारूभन्दा ५ वर्षले जेठी छन्। तर तिन्कुरामले नै मञ्जुलाई पहिलो नजरमै मन पराएरै मागी विवाह गरेको बताए। समाजमा कायम रहेको जातीय भेद्भाव र छुवाछुतलाई निरुसाहित गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई विवाह गरेबापत सरकारले प्रोत्साहन रकम दिँदै आएको छ। तर प्रोत्साहनका लागि भन्दा पनि हाम्रो समाजमा हालसम्म विद्यमान छुवाछुत र भेदभावलाई निरुत्साहित गर्न दुवै परिवारको सहमतिमै विवाह गरेको नवजोडीको भनाइ छ।

तिन्कुराम नकरुराम थारू र रामरति थारूका माइला छोरा हुन्। उमेरले उनी २२ वर्षका छन्। उनी सामान्य लेखपढ गर्न सक्छन्। घरमै खेतीपातीको काम गर्ने र मिहिनेत मजदुरी गर्ने गर्दछन्। उनको दाजुको विवाह भइसकेको छ भने भाइ अझै बढ्दै छन्। यस्तै मञ्जु विक सूर्य विक र खुमी विककी जेठी छोरी हुन्।

उनको उमेर २७ वर्ष भएको छ। उनी पनि सामान्य लेखपढ गर्न सक्ने साक्षर छिन्। उनकी दुई बहिनीमध्ये माइली बैनीले केही वर्षअघि प्रेमविवाह गरिसकेकी छन् भने कान्छी बैनी भने अध्ययनका साथसाथै सामाजिक परिचालकका रूपमा
काम गर्छिन्।

विवाह हुनुभन्दा केही दिन अघि मात्र आफ्नै घरमा केटाले आफूलाई माग्न आएपछि चिनजान भएको उनी बताउँछिन्। ‘कुराकानी गर्दा दुवैको मन मिल्यो। बाबुआमालाई पनि चित्त बुझेर हामी विवाह गरेका हौं’ –दुवैले एउटै स्वरमा भने। अन्तरजातीय विवाहले हामी खुसी छौं। दुवैका परिवारसमेत खुसी छन्।

प्रतिक्रिया दिनुहोस्