प्रतिबद्धता अनुरूपको लगानी ल्याउन सरकारले वातावरण बनाउने



नेपाल समाचारपत्र
काठमाडौं
लगानी सम्मेलनमा आएको प्रतिबद्धतालाई बास्तविक लगानीका रूपमा भित्र्याउन सरकारले तत्कालै काम थालनी गर्ने भएको छ। लगानी सम्मेलनको उपलब्धिका विषयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले दिएको जानकारीअनुसार लगानीकर्तालाई सहज वातावरण बनाउन सरकारले तीन महिनाभित्रै तीन प्रमुख काम गर्ने भएको छ

कम्पनीको अनलाइन दर्ता, अनलाइन भुक्तानी र डिजिटल सिग्नेचर जस्ता कामतीन महिनाभित्र कार्यान्वयनमा ल्याउने मन्त्री जोशीले जानकारी दिनुभयो। सम्मेलनमा विभिन्न १७ परियोजनाका लागि १३ दशमलब ५२ अर्ब डलर लगानीको प्रतिबद्धता आएको छ। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग एवम् निजी क्षेत्रको सहयोगमा भएको लगानी सम्मेलनमा सरकारले एक खर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आउने अपेक्षा गरेको थियो। तर, सरकारको अपेक्षाभन्दा १३ खर्ब रुपियाँभन्दा बढी लगानी प्रतिबद्धता आएको हो।

लगानी सम्मेलनमार्फत् गरिएको प्रतिबद्धतामा चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (चीन) ले जलविद्युत्, अस्पताल, काठमाडौं मेट्रो (१ र २ लाइन) मा ३ अर्ब डलर, चाइना स्टेट कन्सट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीले विमानस्थल, राजमार्ग, सुरुङमार्गमा २ अर्ब डलर, सीटीसीई ग्रुप (चीन) ले पानी आपूर्ति, जलविद्युत्, रेल्वे, सडक, सुरुङमा १ अर्ब डलर लगानी गर्ने उल्लेख गरिएको छ।

त्यस्तै अशोक स्टील इन्डस्ट्रिज लिमिटेड (भारत) ले बैंक, सौर्य ऊर्जा, स्टील प्लान्टमा ३० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएको भने एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्टष्ट्री, ( भारत) ले पर्यटनमा १ करोड डलर, मेडिकेयर एन्भायरोन्मेन्टल म्यानेजमेन्ट प्रालि (भारत) ले औद्योगिक तथा बायोमेडिकलमा ७० लाख डलर, फ्रन्टियर पावर (बेलायत) ले ऊर्जा, कृषि, पूर्वाधारमा १ अर्ब डलर, हिमार्दी फुड प्रालि (बंगलादेश) ले खाद्य प्रशोधन तथा निर्माण २ दशमलब ४ अर्ब डलर, हिमाली डिस्टिलरी प्रालि (नेपाल) ले पल्प तथा पेपरमा १ करोड डलर, रेडियान्स रिनेबल टेक्नोलोजिज (श्रीलंका) ले जलविद्युत्, सौर्य तथा वायु ऊर्जामा ५ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी आरएन ग्रुप अफ कम्पनी (नेपाल) ले निर्माण र औद्योगिक उत्पादनमा ५० हजार डलरमा, सिचुआन बाओक्सिङ कन्ट्री ओन्पिङ माइनिङ कम्पनी (चीन) ले खानी तथा खनिजमा १० करोड डलर, सिचुआन वान्पिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजी कम्पनी (चीन) ले जलविद्युत्, स्मार्ट ग्रिड, वित्तीय क्षेत्रमा १ अर्ब डलर, सोम्युडक कन्साइ फर्म (नेपाल) ले कृषिमा १० लाख डलर, द कन्साइ इलेक्ट्रिक पावर कम्पनी (जापान) ले जलविद्युत्मा १ अर्ब डलर, वुलिङ पावर कर्पोरेसन (चीन) ले तामाकोसी–३ आयोजनामा १ दशमलब २ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट थालनी गर्ने अवसरका रूपमा व्याख्या गरेको सम्मेलनमा चिनियाँ लगानीकर्ता एक्लैले ८ दशमलब ३ बिलियन डलर अर्थात ८ खर्ब ३० अर्ब नेपाली रुपियाँबराबरको लगानीको प्रतिबद्धता गरेका छन्। लगानीको प्रतिबद्धता गर्नेका दोस्रो स्थानमा बंगलादेशका लगानीकर्ताहरू रहेका छन्। उनीहरूबाट २ दशमलब ४ बिलियन डलर अर्थात २ खर्ब ४० अर्ब रुपियाँ लगानीको प्रतिबद्धता आएको छ।

त्यस्तै नेपालमा लगानी गर्न जापान र बेलायतका लगानीकर्ताबाट १⁄१ खर्ब रुपियाँको लगानी प्रतिबद्धता आएको छ भने श्रीलंकाबाट ५० अर्ब, भारतबाट ३१ अर्ब ७० करोड रुपियाँ लगानीको प्रतिबद्धता आएको छ। साथै नेपाली लगानीकर्ताले ११ अर्ब ५० करोड रुपियाँ लगानी गर्ने सम्मेलनमा प्रतिबद्धता जनाएका छन्। सरकारले ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि, वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित ९ वटा विषयगत कार्यपत्र प्रस्तुत गर्दै लगानीका निम्ति आग्रह गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्