भद्रपुरमा धान्याञ्चल ज्ञान महायज्ञ लगाइने



भद्रपुर,(नेस)
झापाको भद्रपुरमा भौतिक संरचना निर्माण तथा विश्व शान्ति एवं मानव कल्याणमा सामाजिक सद्भाव कायम राख्ने तथा सम्पूर्ण पितृहरुको मोक्ष प्राप्ति कामनाको उद्देश्यले श्रीमद् शिवमहापुराण एकादशदिवसीय धन– धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ ।

भद्रपुर १२ स्थित प्रकाशपुर पोकापाडा टोलमा रहेको कैलाशेश्वर शिव पाञ्चायन मन्दिरमा आयोजना गरिएको यहि फागुन २२ गते देखि कलसयात्रा सहित चैत्र २ गतेसम्म सामुदायिक सेवाश्रम, भौतिक पूर्वाधार समेतको विकास र विस्तार तथा सामाजिक सद्भाव कायम राख्ने मूल लक्ष्य लिएर श्रीमद् शिवमहापुराण एकादशदिवसीय धन– धान्याञ्चल ज्ञान महायज्ञ लगाइने लगाइने भएको हो ।

पुराण आयोजक समितिले आइतवार पुराण स्थलमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मन्दिर परिसरको घेरावारा,अध्यात्मिक तथा सामाजिक चेतना बृद्धि, भजन किर्तन सत्सङ्ग कक्षका रुपमा एक सामुदायीक सेवा आश्राम निर्माणका लागि आवश्यक सामग्री जुटाउन पुराणको सहयोग लिइएको जनाएको छ । पुराणमा आचार्य छन्दुराम भण्डारीवाट कथा प्रवचन र पण्डीत सीताराम कोइरालावाट मुल पाठपारायण हुने छ ।

पुराण सफल पार्न विभिन्न पन्ध्रवटा उपसमिति तयारी गरिएको आयोजक समितिका संयोजक चुडामणि मैनालीले जनाएका छन । पुराण सम्पन्न गर्न समितिका अध्यक्ष मैनालीको नेतृत्वमा २ सय ५१ जना मूल आयोजक समिति रहेको जनाइएको छ । मन्दिरमा शिव पाञ्चायन देवताको प्राण प्रतिष्ठा समेत गरिने भएकोले विभिन्न दाताहरुवाट मुर्ति दान भएसकेको मैनालीले बताए ।

पुराणवाट अनुमानित ३० लाख आय तथा ८ लाख खर्च गर्ने लक्ष्य रहेको जनाइएको छ । स्थानीय जग्गा दाता रत्न बहादुर र तारादेवी भण्डारीको परिवारले तिन कठ्ठा एक धुर जमिन र करिव १२ लाखको लागतमा मन्दिर निर्माण गराई दुवैगरी अन्दाजी ६० लाखको सम्पत्ती समुदायलाई हस्तान्तरण गरेको मन्दिर समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्