पोलियो खोप अन्योलमा



बाँके, (नेस)
देशका १५ जिल्लामा खुवाउन थालिएको पोलियो खोप अन्योलमा परेको छ।

स्वास्थ्य मन्त्रालयले ‘जसरी भए पनि खुवाउन’ निर्देशन जारी गरिरहँदा जिल्ला–जिल्लामा स्वास्थ्यकर्मीहरूको आन्दोलनले गर्दा अभियान अन्योलमा परेको हो। सरकारले देशका १५ जिल्लामा फागुन २१ र २२ गते पोलियो थोपा खुवाउने कार्यक्रम बनाएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले माथिबाट खुवाउन आदेश आए पनि जिल्लामा त्यस्तो वातावरण नभएको बताउनुभयो। ‘स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन्। कार्यालयमा ताला लागेको छ। कसरी औषधी खुवाउने? खड्काले भन्नुभयो– ‘सहमति नभईकन औषधी खुवाउने अवस्था छैन।’

देशभरका स्वास्थ्यकर्मीहरू विभिन्न माग राखेर विगत केही दिनदेखि आन्दोलनमा रहेका छन्। स्वास्थ्यकर्मीहरूको आन्दोलनले गर्दा स्वास्थ्य संस्थाका केही आपत्कालीन कामबाहेक सबै बन्द रहेको छ। पोलियोसँगै चैत्र ५, ६ र ७ गतेलाई तय गरिएको हात्तीपाइले रोगविरुद्धको अभियान पनि प्रभावित हुने देखिएको छ।

हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउनका लागि जिल्लामा गर्नुपर्ने छलफल, अन्तरक्रियाहरू हुनसकेका छैनन्। त्यसो त, बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खानेको संख्या कम रहेको छ। अभियानको पहिलो वर्ष नै स्वास्थ्यकर्मीले जथाभावी औषधी बाँडेर खुवाएकाले धेरैलाई त्यसले नराम्रो असर गरेको थियो।

धेरै बिरामी भएपछि औषधी खानेको संख्या घट्दै गएको छ। हात्तीपाइले औषधीको कभरेज बढाउन जनस्वास्थ्यले धेरैभन्दा धेरै छलफल, गोष्ठी, अभिमुखीकरण गर्नुपर्ने देखिन्छ। स्वास्थ्यकर्मीको आन्दोलनले त्यो पनि हुन सकेको छैन। ‘केन्द्रमा टे«ड युनियन र सरकारका बीचमा वार्ता भइरहेको छ, राति अबेरसम्म केही निष्कर्ष आउला।’ –जनस्वास्थ्य प्रमुख खड्काले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्