विदेशीको सहयोगमा बालविकास भवन



रामपुर (पाल्पा), २० फागुन । जिल्लाको दुर्गम र विकटमा रहेको सहलकोट गाविस–८ को थाममा विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण भएको छ ।

जापानी नागरिक इति ओकोको रु तीन लाख सहयोग, सहलकोट गाविसको रु ५५ हजार दुईसय ६१ र स्थानीयवासीको रु ५५ हजार सातसय ८५ बराबरको श्रमदान गरी कुल रु चारलाख ११ हजार ४६ को लागतमा सो भवन निर्माण गरिएको हो ।

दुईकोठे नवनिर्मित भवनमा फर्निचर सहित शौचालय र खानेपानीको सुविधा रहेको छ । दैनिक एक घन्टा पैदल हिँडेर विद्यालयमा जान बाध्य बालबालिका घर नजिकैको बालविकास केन्द्रमा बसेर शिक्षा लिन पाउँदा उनीहरुमा खुसी छाएको छ । शिक्षा, स्वास्थ्य, सडक लगायतका आधारभूत सेवासुविधाबाट टाढा रहेका यहाँका स्थानीयवासीले नजिकै बालविकास केन्द्र, विद्यालय नहुँदा उनीहरुकै भविष्यकै निम्ति पनि गाउँ छोड्न बाध्य थिए । तर अहिले भने यो समस्या तत्कालका लागि हटेको स्थानीयवासीले बताएका छन् ।

आमाको दूध चुस्दै गरेका ३ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घन्टाको उकालो–ओरालो गरेर सहलकोट गाविस–९ को बालहित मावि आनन्दीभन्ज्याङमा पुग्न त्यति सहज थिएन । विद्यालय टाढा रहँदा अभिभावकले पनि बच्चाबच्ची विद्यालयसम्म पु¥याउन निकै समस्या झेल्दै आएका थिए ।

यहाँका स्थानीयवासी, अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाको पहलमा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बालविकास केन्द्रका अध्यक्ष तुलबहादुर कानुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्