खुकुरी प्रहार गरी पत्नीको हत्या



अनिल खत्री, गुल्मी
घरायसी कलहका कारण गुल्मीको इस्मारजस्थलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। इस्मारजस्थल गाविस वडा नं १ का ५९ वर्षीय यमबहादुर अर्यालले पत्नी ४५ वर्षीया कमला अर्यालको हत्या गरेका हुन्। घरायसी कलहका कारण बिहान साढेसात बजे एक्कासि खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ। खुकुरी प्रहार गरेपछि ढुंगाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। छुट्टाउन खोज्दा छिमेकी १४ वर्षीया मायाँ कुवंर पनि घाइते भएकी छन्। उनको बायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको नायब उपरीक्षक नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्