देवराज गुरुङ
जनजातिहरूमा लाहुरे ‘संस्कृतिले बेस्सरी घर गरेको छ। विशेष गरेर गुरुङ, मगर र राई–लिम्बुहरूमा लाहुरे बन्ने प्रचलन व्याप्त छ। जनजातिहरूको लाहुरे संस्कृति हेर्दा लाग्छ– लाहुरेविनाका जनजाति ‘मणिविनाका सर्प अनि ‘पानीविनाका माछा जस्तै हुन्। पानीविना जसरी माछाको अस्तित्व हुँदैन, लाहुरविनाका जनजातिहरूको पनि अस्तित्व छैन।
कुनै बेला पाकिस्तानको ‘लाहुर नेपालीहरूको रोजगार गन्तव्य थियो। रोजगारीका लागि लाहुरमा नेपालीहरूको बाक्लै आउ–जाउ हुन्थ्यो। त्यसैले रोजगारका लागि लाहुर जानेहरूका लागि त्यति बेला ‘लाहुरे भन्ने विशेषण गुथाइन्थ्यो। पछि रोजगारीका गन्तव्यहरूमा विविधता आयो। बेलायत र भारतले आफ्नो सेनामा जनजातिहरूलाई भर्ना लिन थालेपछि जनजातिहरू त्यसतर्फ आकर्षित भए।
जनजातिहरूमा बेलायत र भारतको सेना (लाहुरे) बन्नु नै सबैभन्दा ठूलो सपनाका रुपमा दरियो। जुन अद्यापि जनजातिहरूको दिमागबाट हट्न सकेको छैन।
जनजाति समाजमा लाहुरे संस्कृतिले यसरी जरा गाडेर बसेको छ कि कुनै युवाको सफलता⁄विफलता लाहुरे हुनु या नहुनुसँग जोडेर हेर्ने गरिन्छ। लाहुरे नबन्नेलाई फलानोको छोराले के गरेर खान्छ होला ? लाहुरे नै बन्न सकेन, बर्बाद नै भयो ⁄ जस्ता वाक्यांशको प्रयोग गरेर होच्याउने गरिन्छ। लाहुरेबाहेकका पेसा अँगाल्नेलाई भनिन्छ– लाहुरे पो हुनुपर्छ, जाबो यस्तो पेसा गरेर पनि खान पुग्छ त ?
लाहुरेइतरका पेसामा रहेका युवाहरूलाई त्यति बेला सबैभन्दा ठूलो मार पर्छ जब विवाहका लागि केटीको खोजी शुरु हुन्छ। समाजमा डिग्री गरेका युवाहरू लाहुरेको भन्दा तल्लो कोटीमा पर्छन् र अभिभावकहरू डिग्री गरेका केटाबाट तर्किन्छन्।
कसैले नयाँ सन्तानको रुपमा छोरा जन्मायो भने लाहुरेजस्तो छोरा जन्मेछ भनेर बाल्यकालमै लाहुरेको बिल्ला भिराउने प्रचलन जनजातिमा छ। आशीर्वाद दिँदा पनि भनिन्छ– लाहुरे बनोस्। सम्रगमा लाहुरेभन्दा ठूलो पेसा केही छैन र लाहुरे भयो भने मात्र जीवन सुखी हुन्छ भन्ने धारणा जनजाति समुदायमा अहिलेसम्म रहेको छ।
मेरो पल्लो घरको हजुरबाले भन्नुहुन्थ्यो– दोस्रो विश्वयुद्धमा घुम्दै जाने क्रममा (मलाया (हालको मलेसिया)मा त्यति बेला मलायाहरू नाङ्गै माछा मार्दै हिँड्थे। उनीहरूलाई माछा खोज्दै हिँडेका भनेर हामीहरू जिस्क्याउँथ्यौं। प्रतिउत्तरमा उनीहरू भन्ने गर्थे– तिमीहरू पनि भात खोज्दै हिँडेको नेपाली होइन र ?
आज त्यही नाङ्गै माछा खोज्नेहरूको देश कहाँ पुगिसक्यो तर हामी भात खोज्दै हिँड्ने लाहुरेहरूको देश कहाँ छ ? माछा खोज्दै हिँड्नेहरूको देशमा १० लाखभन्दा बढी नेपालीहरू आज पनि भातको खोजीमा छन्। अब हामी कहिलेसम्म लाहुरे बन्ने भन्ने कुरा हामीले सोच्ने बेला आएन र ?
देशमा गणतन्त्रको स्थापनापश्चात् जातीय अधिकार र पहिचानको कुरा निकै सुनियो। जनजातिहरूले जातीय राज्यको माग गरे। राज्यको हरेक तहमा सहभागिता र समावेशीको कुरा जनजातिहरूले मुख्य एजेन्डा बनाए। लोकसेवा आयोगमा समेत गणतन्त्रपश्चात् जनजातिहरूले आरक्षण कोटा प्राप्त गरेका छन्।
तर, राज्यको हरेक तहमा समावेशीका कुरा गर्ने जनजातिहरू कहिल्यै पनि लोकसेवाको परीक्षा फारम भर्ने लाइनमा भने देखिएनन्। बरु उल्टै लाखौं खर्च गरेर लाहुरे बन्ने धुनमा ट्रेनिङ सेन्टरहरू धाएर पाखुरा बलिया बनाइरहेका छन्।
फरक यति हो, बाहुन–क्षत्रीहरू लोकसेवाको परीक्षा पास गर्ने ट्युसन सेन्टर धाइरहेका छन् भने जनजाति युवाहरू अझै पनि भर्तीकेन्द्र धाइरहेका छन्। राज्यको हरेक तहमा समावेशी र समानुपातिकको कुरा गर्ने अनि छाती नाप्न दगुर्ने ? जनजातिहलाई लाज लाग्ने समय आएन र ?
त्यति मात्र कहाँ हो र ? जनजाति समाजमा सरकारी जागिर भनेको लाहुरे मात्र हो भन्ने सोच अझै पनि कायमै छ। जनजाति समाजमा लाहुरेभन्दा माथि शिक्षक, डाक्टर, पाइलट, इन्जिनियर, निजामती कर्मचारी छन् भन्ने सोच अहिलेसम्म पनि विकास हुन सकेको छैन। देशको सुरक्षा निकायमा ५० प्रतिशतभन्दा बढी जनजाति कार्यरत छन्, तर ती जनजातिहरूले सुरक्षा निकायको उच्च पदमा पुग्ने प्रयास कहिल्यै गरेनन्। आफूले १७–१८ वर्षसम्म एउटै पदमा जागिर खाई पेन्सन पकाएर आएको हुन्छ। अनि त्यही पदमा आफ्नो छोरालाई पनि जागिर खुवाउन सफल भयो भन्दै मख्ख पर्ने संस्कार छ।
बाजेदेखि नातिसम्म एउटै पदमा जागिर खान अभ्यस्त हामी जनजातिले संस्कार र संस्कृतिहरू पनि त्यस्तै किसिमको बनाएकमा छौं। गीत⁄संगीतसमेत त्यस्तै रहेका हुन्छन्। लाहुरे दाइ, लाहुरेको छोरीले …। गीत⁄संगीतमै आफैंले आफैंलाई पछि पारिएको छ। मैले आजसम्म गीतहरूमा सुबेदारभन्दा माथिको पद सुनेको छैन। यसले प्रस्ट गर्छ कि हामी त्यो पदभन्दा माथि कहिल्यै जान सकेनौं।
हिजो पुर्खाहरूको समयमा शिक्षा लिन शैक्षिक संस्थाहरू पर्याप्त थिएनन्। जागिर खानलाई अन्य उपाय पनि थिएन। त्यसैले बेलायती र भारतीय सेना उनीहरूको पहिलो रोजाइमा पर्यो। तर हिजो बाबुबाजे लाहुरे बने भनेर हामीले त्यसैलाई निरन्तरता दिन जरुरी छैन। समय परिवेशअनुसार हामी जनजाति परिवर्तिन हुन ढिलो भइसकेको छ।
बेलायतले लाहुरेलाई धन दिएन, तलब दियो। बेलायतले लाहुरेको दिमाग बनाइदिएन, मात्र पाखुरा सुगठित हुने तालिम दियो। हामीले कहिलेसम्म हाम्रो वीरता र पाखुरा विदेशमा निर्यात गरिराख्ने ? सोच्ने समय आएन र ?
हुन त आज बेरोजगार युवाहरू रोजगारको सिलसिलामा खाडीमा चौकिदार र कुच्चोदार बनिरहेका छन्। अरबमा चौकिदार बस्नुभन्दा बेलायती सेना र भारतीय सेनामा लाहुरे बन्नु अलि सम्मानजनक होला। तर, वीर र बहादुर गार्खालीको नामले परिचित युवाहरू लाहुरेको नाममा खसीबोका किनबेच गरेझैँ बेचिनु स्वाभिमानी गोर्खालीहरूका लागि शोभनीय विषय भएन कि ?
प्रतिक्रिया