वन विहारलाई इको टुरिजमका रूपमा विकास गरिने



यमलाल भुसाल, बुटवल
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रलाई इको टुरिजमको रूपमा विकास गरिदै लगिने भएको छ।शंकरनगर सामुदायिक वनमा २०६२ सालमा स्थापना भएको वन विहार तथा अनुसन्धान केन्द्र पश्चिमाञ्चल क्षेत्रकै केन्द्रका रूपमा विकास हुँदै गएको र त्यसको समुचित विकास अपरिहार्य रहेको बताइएको छ।

वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालका अनुसार सुविधा सम्पन्न पार्क तथा विश्राम स्थल, वनभोज तथा विवाहका लागि उपयुक्त सेडको निर्माण, बाल उद्यान, लोपोन्मुख वन्यजन्तु तथा वनस्पतीको संरक्षण, प्रवद्र्धन तथा अनुसन्धान, व्यवसायिक लाभका लागि नर्सरी स्थापना, सदावहार बोट–विरुवा रोपण तथा संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो।

जडीबुटीखेतीका लागि बोटानिकल गार्डेनको रूपमा विकास तथा पुष्प व्यवसायको समेत सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने, पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रमहरू भ्यु टावर, एक्युरिएम, हरर हाउस, लुम्बिनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक कुवा संरक्षणलगायतका कामहरू अगाडि बढाउन आवश्यक देखिएको अध्यक्ष अर्यालले बताउनुभयो। केन्द्रले भ्यु टावर निर्माण, बाल रेल सञ्चालन, चिडियाखानालाई स्तरोन्नति, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माणलगायतका कार्यक्रमलाई दीर्घकालीन योजनाको रुपमा अगाडि सारेको छ।

शंकरनगर सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको रूपमा छुट्याइएको छ। जसले रुपन्देही जिल्लामै नमुनाको रूपमा अघि बढेको दाबी अध्यक्षको छ।

तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले शंकरनगर सामुदायिक वनमा सञ्चालन गरिएको वन विहार तथा अनुसन्धान केन्द्रलाई नगरको पुँजीको रूपमा लिइएको बताउँदै त्यसको विकासका लागि नगरपालिकाले प्राथमिकताका आधारमा सहयोग गर्ने बताउनुभयो। शंकरनगर बहुमुखी क्याम्पसका चण्डीप्रसाद पाण्डे, आजीवन सदस्य भेषराज गैरे, सुलोचना नेपालले शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र इको टुरिजमको रूपमा विकास हुँदै गएकाले त्यसभित्र विकृतिरहित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्