आगलागीपीडितलाई १ लाख ८१ हजार सहयोग



नेपाल समाचारपत्र
पाँचथर
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बु समुदायका नेपाली युवाहरूद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई १ लाख ८१ हजार रुपियाँ सहयोग प्रदान गरेको छ।

सयङको अगुवाई संकलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको सहयोगार्थ स्थापित ‘सक्रान्तिबजार पुनर्निर्माण तथा पुनस्र्थापना कोष मा जम्मा हुने गरी शुक्रबार प्रदान गरिएको छ। सक्रान्तिबजारस्थित नागेश्वर पञ्चाङ्ग शिवालय मन्दिरमा आयोजित कार्यक्रममा सयङका संस्थापक सल्लाहकार कुविर लिङ्देनले इलाका प्रशासन कार्यालय सक्रान्तिबजारका प्रमुख सफल पोर्तेललाई हस्तान्तरण गरे। सयङले ‘पुरानो डुङ्गा नामक नेपाली चलचित्र प्रदर्शन गरी करिब ७० हजार तथा बाँकी रकम दक्षिण कोरियामा रहेका नेपालीहरूबाट संकलन
गरेको हो।

आगलागीबाट घर तथा व्यवसाय गुमाएका पीडितहरूको तत्कालीन जीविकोपार्जन तथा आगागी दिनमा पेसा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग संकलन गरिएको लिङ्देनले बताउनुभयो। आफूहरू विदेशमा रहँदा आगलागीपीडितहरूलाई कठाङ्ग्रिदो चिसोमा दैनिकी गुजार्न समस्या परेको सुन्नुपरेको बताउँदै लिङ्देनले पीडितका घाउमा मल्हम लगाउने प्रयत्न गरिएको उल्लेख गरे। इलाका प्रशासक पोर्तेलले रोजगारीका क्रममा विदेशमा रहेका युवाहरूले आगलागीपीडितको सहयोगार्थ चलाएका सहयोग संकलनका अभियानले आगलागीपीडितको जविकोपार्जन तथा सक्रान्तिबजारको पुनर्निर्माणमा ठूलो योगदान पुगेको बताउनुभयो।

गत पुस १ गते आठराईस्थित सक्रान्तिबजारमा भएको आगलागीमा ३२ घर टहरा जल्दा ७३ परिवार विस्थापित भएका थिए। आगलागीपीडितहरू उद्योग वाणिज्य संघ सक्रान्तिबजारको टहरा, कृषि विकास कार्यालयको भवन, आफ्ना आफन्त तथा डेरा गरी बस्दै आएका छन्। आगलागी भएको साढे २ महिना बिते पनि सक्रान्तिबजारको पुनर्निर्माणको काम शुरू हुन सकेको छैन। आगलागीपीडितका लागि संकलित सहयोग रकममध्ये अधिकांश सक्रान्तिबजार पुनर्निर्माण तथा पुनस्र्थापना कोषमा जम्मा हुँदै आएका छ। जिन्सी तथा खाद्यान्न सहयोग भने पीडित स्वयम्ले पाउने गरेका छन्। केही सहयोगीहरूले भने पीडितलाई नगदै प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्