दुर्घटना बढेको भन्दै सवारी चेकजाँचमा कडाई



तीन घण्टामै प्रमाणविनाका ३० मोटरसाइकल कारवाही

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० फागुन ।

तपाईं सवारी चलाउँदै हुनुहुन्छ ? गाडीको बिलबुक र लाइसेन्स बोक्न नबिर्सनुस् है । ए, नजिकै त हो नि भनी प्रमाणै नलिई सडकमा सवारी चलाउँदा ट्राफिकको फन्दामा पर्न सकिन्छ । सबै प्रमाण हुँदाहुँदै पनि प्रमाण नबोक्नाले व्यर्थमा जरिवाना तिर्नुपर्ने हुनसक्छ । त्यसैले सडकमा सवारी गुडाउँदा सबैभन्दा पहिले आफ्नो लाइसेन्स र गाडीको बिलबुक भए नभएको अवश्य ख्याल गर्नुस् ।

प्रमाण नबोक्नाकै कारण कपिलवस्तुमा कैयौंले यस्तै समस्या भोग्नुपरेको छ । वडा प्रहरी कार्यालय र अस्थायी ट्राफिक पोष्ट चन्द्रौटाले यतिबेला सवारी चेकजाँचमा निकै कडाई गरेको छ । टोलीले चेकजाँचका क्रममा ३ घण्टामै ३० वटा मोटरसाइकललाई कारवाही गरेको छ । एक नम्बरी मोटरसाइकल हुँदाहुँदै पनि प्रमाण साथमा नहुँदा ती मोटरसाइकल कारवाहीमा परेका हुन् ।

हाइवे चेकिङमा सोमबार प्रहरी टोलीले मोटरसाइकल मात्र चेकजाँच गरेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज हरि बहादुर जि.सी.ले जानकारी दिनुभयो । चेकजाँच गर्दा कतिपयले मोटरसाइकलको बिलबुक नै बोकेका थिएनन् भने कतिपयले सवारी चालक अनुमति पत्र नै साथमा लिएका थिएनन् ।

प्रहरीले कागजात नभएका ती सम्पूर्ण मोटरसाइकललाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय चन्द्रौटाको परिसरमा राखेको थियो । घरबाट कागजात ल्याएपछि मात्र एक हजारदेखि पन्ध्र सयसम्म जरिवाना काटेर मात्र प्रमाण आधारमा मोटरसाइकल जिम्मा लगाएको ट्राफिक पोष्ट प्रमुख जि.सी.ले बताउनुभयो । समयमा कागजात ल्याउन नसकेका मोटरसाइकल अझै पनि प्रहरी परिसरमा राखिएका छन् ।

यता वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले सवारी चालकहरुको लापरबाहीले दुर्घटना बढ्दै जाँदा चेकजाँच अभियानमा तिब्रता दिएको बताउनुभयो । चालकले प्रमाण समेत नबोक्ने र लापरबाही तरिकाले मोटरसाइकल चलाउनाले दैनिकजसो दुर्घटना बढेको उहाँले बताउनुभयो । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने भएकाले मोटरसाइकललाई विशेष निगरानी बढाएको प्रहरी निरीक्षक भट्टराईको भनाई छ । लाइसेन्स नभएको र मापसे गरी मोटरसाइकल चलाउनेलाई अझ कडाई गरेको भट्टराईले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्