सीके राउतका ६ कार्यकर्तालाई राज्यविरुद्ध मुद्दा



यमलाल भुसाल, बुटवल
स्वतन्त्र मधेस गठबन्धनको नाममा अलग मधेसको माग गर्दै आएका सीके राउतका ६ जना कार्यकर्तालाई रूपन्देहीमा राज्यविरुद्ध मुद्दा चलाइएको छ। संयुक्त मधेस गठबन्धन सीके राउतका कार्यकर्ताले प्रहरीलाई छल्न विवाहको ब्यानर बसमा टाँगेर सभा गर्न जाँदै गर्दा रूपन्देही प्रहरीले २६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा चलाइएको छ भने २० जनालाई छाडिएको छ।

शनिबार रूपन्देहीको मर्चवारबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आइतबार जिल्ला अदालत रूपन्देहीमा राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्यविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार रूपन्देही बोगडी–५ का उदीप यादव, बयरघाट–४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ का विकासप्रसाद लोध, रोहिनिहवा–४ का परमेश्वर यादव, कमरिया–८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरीविरुद्ध राज्यविरुद्ध मुद्दा चलाइएको छ।

उनीहरूले जिल्लामा रहेर राउतको अभियानलाई साथ दिँदै राज्यविरुद्ध संगठित अपराध गरेको उहाँले बताउनुभयो। मर्चवारमा स्वतन्त्र मधेसको नाममा आमसभा गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई रिहाइको माग गर्दै राउतका कार्यकर्ताले आइतबार मर्चवारमा प्रदर्शन गरेका छन्। पक्राउ आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नाराबाजी गरिरहेको समूहले मर्चवारको बडबडिया प्रहरी चौकीमा एक्कासि आक्रमण गरेपछि शनिबार जस्तै आइतबार पनि मर्चवार अशान्त बनेको थियो। विद्यार्थीलाई अगाडि लगाएर प्रहरीमाथि आक्रमण गरेपछि सामान्य बल प्रयोग गर्दा भागदौड भएको र प्रहरी संयमिता अपनाएका कारण ठूलो क्षति हुन नपाएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदर्शनकारीले प्रहरीलाई चारैतर्फबाट घेरा हालेर आक्रमण गरेका थिए। ‘संयमितता अपनाउँदै प्रहरी ब्याक हुँदै गरेको अवस्थामा हतियार खोसियो’ –उहाँले भन्नुभयो।

सानो संख्यामा रहेका प्रहरीलाई लखेटेर केही थान हतियारसमेत लुटिएको उहाँले बताउनुभयो। लुटिएका हतियारमध्ये एसएलआर, म्यागेजिन बरामद भएको छ भने ग्यास गन र केही ग्यासहरू अबेरसम्म भेटिएको छैन। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेको थियो। पछि घटनास्थलमा थप प्रहरी परिचालन गरी स्थिति सामान्य पारिएको छ। आइतबार भएको झडपमा केही सुरक्षाकर्मीसहित कार्यकर्ताहरू घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार अर्जुन रोकाय, प्रहरी जवान रमेश पाल, प्रहरी जवान रामबहादुर भण्डारी र प्रहरी जवान अमर मल्ल रहेका छन्। उनीहरूको टाउको, हात खुट्टा तथा छातीमा चोट लागेको छ। घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।

तपाईं कसैको विवाहमा जाँदै हुनुहुन्छ भने ख्याल गर्नु होला नत्र प्रहरीको फन्दामा परिएला। किनकि आन्दोलनकारीले प्रहरीबाट जोगिन बसमा विवाहको ब्यानर टाँगेर आन्दोलनमा मानिस जम्मा गर्ने अभियान थालेको घटना शनिबार रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आयोजित एक कार्यक्रममा प्रहरीले फेला पारेको छ।

प्रहरीले सभा गर्न नदिने भन्दै सुरक्षाकर्मी तैनाथ गरेकाले आफूहरूले नयाँ रणनीति तय गरेको एक आन्दोलनकारीले बताएका छन्। उनीहरूले आयोजना गरेको सभालाई सफल हुन नदिन प्रहरीले बलसमेत प्रयोग गरेपछि आक्रोशित समूहले लु१ख ४९८१ नम्बरको ट्रकमा आगजनीसमेत गरेका थिए। केही बेर आनदोलनकारी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्