कपिलवस्तुमा छुट्टाछुट्टै दुई दुर्घटना: २ को मृत्यु २ घाइते



सीताराम चौधरी, कपिवस्तु ।
कपिलवस्तुको छुट्टाछुट्टै दुई स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गको जीतपुर–गोरुसिंगे सडकखण्ड अन्तर्गत बलहुन्द्रा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका ५, हसनपुरका ३४ वर्षे डेबिट सिंहको घटनास्थलमै मृत्यु भएको छ । यस्तै मोटरसाइकल सवार खेमराज सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट धनगढी जाँदै गरेको बा १७ प ५८४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा १ ख ८२८ नम्बरको टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक डेबिटको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार घाइते खेमराजको स्थानीय मेडिकलमा उपचार भएको छ ।

यसैबीच गएराति अन्दाजी १० बजे जिल्लाको शिवराज नगरपालिका ३, छालाजुत्ता फैक्ट्री नजिकै सुपादेउराली मोडमा मोटरसाइकल दुर्घटनामा परी अर्घाखाँचीको खिदिम ९ का १९ वर्षीय महेश सुनारको मृत्यु भएको छ । भने मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय प्रकाश सुनार घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अर्घाखाँचीबाट खरेन्द्रपुरतर्फ आउँदै गरेको लु २१ प ५३५८ नम्बरको मोटरसाइकल मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो । तीब्र गतिका कारण मोडमा अनिन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी घाइते प्रकाशलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । मृतक महेशको शवलाई शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । उनीहरु दुवैजना खरेन्द्रपुरस्थित अर्घाखाँची सुनचाँदी पसलका कालिगढ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्