प्रदीप उप्रेती
नेपालमा मानव बेचबिखन अर्थात् तस्करीको समस्या कुनै नौलो होइन। राष्ट्रिय समस्याका रूपमा यो निकै लामो समयदेखि मुलुकमा विद्यमान रहँदै आएको छ। सो समयमा भारतका विभिन्न शहरहरूमा विशेष गरी पुरुषहरूको तुलनामा महिलाहरूलाई यौनजन्य गतिविधिमा आबद्ध गराउने निहित उद्देश्यका साथ बिक्रीवितरण हँुदै आएको थियो भन्दा त्यति फरक नपर्ला। तर आज विश्वको परिवेशमा आएको परिवर्तहरूसँगसँगै मानव तस्करी गर्ने तरिका तथा उद्देश्यमा पनि निकै भिन्नता आएको पाइन्छ। पहिलेको तुलनामा अहिलेका मानिसहरू तुलनात्मक रूपमा आफ्ना लागि कुन कुरा सही हो कुन गलत हो भन्ने छुट्याउन सक्ने क्षमतामा अभिवृद्धि भएकै कारण यस्ता मानव तस्करसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने व्यक्ति वा समुदायहरूले पनि तस्करीका लागि अँगाल्ने विधिहरूमा पनि नौलो किसिमका तरिकाहरू अपनाउने गरेको देखिन्छ।
मानव तस्करी मानव जातिमाथि गरिने क्रूर तथा जोखिमले भरिएको समस्या हो, जसको न्यूनीकरणका लागि राज्य स्वयंको एक्लो प्रयासले मात्र सम्भव देखिँदैन। तसर्थ विषेश गरेर नेपाललगायत सम्पूर्ण दक्षिण एसियाका अधिकांश मुलुकहरूमा मूल समस्याको रूपमा कायम रहेको व्याप्त गरिबी नै मानव तस्करी गर्नेहरूका लागि प्रमुख कारक तत्त्व बन्न पुगेको छ। जब कुनै पनि मानव समुदायमा गरिबी भित्रिन्छ। त्यही गरिबी नै अभिशापका रूपमा अनेकौं आर्थिक तथा सामाजिक समस्याहरू जन्माउन व्यक्ति, समाज, तथा परिवारलाई बाध्यात्मक अवस्था खडा गरिदन्छ। सोही कारण सम्बद्ध समुदायहरू पीडित हुन पुग्छन्।
परिणामतः आफ्ना सन्ततीहरूलाई उचित शैक्षिक वातावरण तयार गर्न नसकी त्यहाँ अशिक्षाको साथै अज्ञानताले व्यापकता पाउने निश्चितै छ। यसैको परिणामस्वरूप असल तथा खराब तत्त्वहरूको तुलनात्मक भिन्नतालाई सहजै मनन गर्न नसक्दा मानव तस्करहरूका मृदुभाषी कुराहरूको पत्यारमा पर्न जाँदाका दुष्परिणामका कारण यस्ता मानव तस्करीले मुलुकभित्र मौलाउने अवसर पाएका हुन् भन्न सकिन्छ।
यस्ता गैरकानुनी क्रियाकलापका विरुद्ध शैक्षिक जनचेतनाको अभिवृद्धि गर्ने हो भने निश्चय पनि मानव तस्करलाई कम गर्न महत्त्वपूर्ण सघाउ पुग्न जाने देखिन्छ। यसका अतिरिक्त अझ आजभोलि त रोजगारीको तथा फ्री भिसाको नाममा विभिन्न प्रकारका आकर्षक प्रलोभन देखाएर अवैध बाटोबाट भारत हँुदै मानव तस्करहरूले खाडी मुलुकसम्म पुर्याउने दुष्प्रयास गर्दै आएका छन्।
अशिक्षित समुदायहरूमा अपवादका रूपमाबाहेक अन्य अपरिचित व्यक्तिहरूलाई सहज रूपमा विश्वास गरिहाल्ने परिपाटीकै कारण मानव तस्करहरूको पनि खास गरी यस्ता व्यक्ति वा समुदायहरूप्रति विशेष लगाव रहेको हो भन्न सकिन्छ। नेपाल तथा भारतका अधिकांश शहरी क्षेत्रहरूमा कायम रहेको उच्च दरको जनघनत्व तथा कामको खोजीमा विशेष गरी दिनहुँ दुर्गम क्षेत्रबाट सुगम क्षेत्रमा तीव्र रूपमा बसाइँसराइमा वृद्धि हुँदै आएको पाइन्छ। बसाइँसराइका क्रममा सुगम क्षेत्रको वातावरणमा सहज रूपले घुलमिल हुन नसक्दा सिर्जित समस्याहरूबाट पीडित समुदायहरू नै वास्तवमा तस्करहरूको लक्षित समूहभित्र पर्न जाने अर्को प्रबल सम्भावना रहन्छ।
आर्थिक अभावमा पिल्सिएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस्ता संगठित अपराधमा लाग्नेहरूले थोरै मात्रामा आर्थिक प्रलोभन दिलाई सहजै आफ्नो पञ्जामा पार्न सक्नेछन्। तसर्थ यस्ता आर्थिक विपन्न अवस्थामा रहेका समूहलाई लक्षित गरी राज्यले पनि जनचेतना अभिमुखी कार्यक्रमहरू सञ्चालन गरेर मानवताविरुद्धका यस्ता घृणित कार्यप्रति आम जनसमुदायलाई समयमा सचेत गराउनु नै यस्ता कार्यहरूलाई निरुत्साहित गराउनुसरह हो। विगतका समयमा सीमितरूपमा यौनदासीलगायतका कार्यका लागि मात्रै तस्करी हुने अवस्था थियो भने आज यौनिक कार्यका अलावा मानव अंग तस्करीका अतिरिक्त अन्य गैरकानुनी क्रियाकलापमा बाध्यात्मकरूपमा लगाउने निहित उद्देश्यका साथ मानव जातिको तस्करी हुनु मानव सभ्यतामाथिकै कलंक हो भन्न सकिन्छ। अतः यस्ता कार्यहरू अवश्य पनि भत्र्सनायोग्य नै छन्।
संयुक्त राष्ट्रसंघको ग्लोबल रिर्पोट अन ट्राफिकिङ इन पर्सन २०१६ का अनुसार यस्ता मानव तस्करका जालोहरू विश्वका अन्य मुलुकहरूको तुलनामा नेपाल तथा भारतमा विषेश रूपमा नै सक्रिय रहेको तथ्य औंल्याउनुले पनि नेपालसमेत यस्ता मानव तस्करीको उच्च जोखिमको क्षेत्रमा रहेको हँुदा नेपाल सरकार तथा सरोकारवाला सम्बद्ध पक्षले विष्ोश हेक्का राख्नु अत्यन्त जरुरी भइसकेको छ। उक्त प्रतिवेदनअनुसार यस्ता तस्करहरूले विशेष गरी विश्वमा महिलाको तुलनामा पुरुषहरू नै बढी मात्रामा पीडित हुने देखाइएको छ। यी तस्करहरूको पञ्जामा विश्वका पुरुषहरू ६३ प्रतिशत पीडित छन् भने महिलावर्ग तुलनात्मकरूपमा केही कम प्रतिशत अर्थात् ३७ प्रतिशत मात्र पीडित रहेको औंल्याइनुले वास्तवमा मानव तस्करको जालो विश्वव्यापी रूपमा नै फैलिँदै गएको हो भन्न सकिन्छ।
तसर्थ विगतका समयमा महिलावर्ग मात्र पीडित रहने गरेको नेपाललगायत विश्वव्यापी समाजमा आज पुरुषहरू पनि तुलनात्मकरूपमा बढी पीडित हुनु ज्यादै चिन्ताको विषय हो। महिलाको तुलनामा केही सबल पुरुष भएको ठानिएको भए तापनि यस्ता मानव तस्करहरूको समूहले कुनै पनि जातजाति वा सम्प्रदायहरूलाई तस्करी गर्न सक्ने भएको हुँदा आज सम्पूर्ण मानव जातिहरूले नै ढुक्क भएर बस्न सक्ने परिस्थिति पक्कै पनि देखिएन। अतः मानव सभ्यतामाथिकै ठूलो कलंकको विरुद्धमा नेपाललगायत विश्व समुदायले सचेत भई आवाज उठाउनुको साथै यस्ता कार्यहरूमा लाग्ने व्यक्ति वा समूहलाई कडाभन्दा कडा कानुन निर्माण गरेरै भए पनि निर्मूलीकरण गर्नुपर्ने हो, तर सो गर्न सम्भव नभएको हँुदा कमसेकम न्यूनीकरण गर्न सके मात्रै पनि ठूलो उपलब्धि हासिल भएसरह हुनेछ।
यसबाहेक नेपाल तथा भारतका खुला सिमानामा मानव तस्करहरू अन्य क्षेत्रको तुलनामा बढी सक्रिय रहने हुँदा यस्ता क्षेत्रहरूमा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। साथै वैदेशिक रोजगारका क्रममा नया कामदारलाई घरेलु कामदारका रूपमा कुवेत, ओमन, बहराइन, साउदी अरेबिया, कतारलगायतका मुलुकमा जान प्रतिबन्ध लगाएको भए तापनि यस्ता मुलुकहरूमा जाने क्रममा भने खासै कमी आएको पाइएन। गैरकानुनी बाटोहरूको प्रयोग गरेरै भए पनि ती सम्बद्ध मुलुकहरूमा नेपालीहरूको बाहिरिने क्रम पूर्णरूपमा हालसम्म पनि रोकिएको भने देखिएन। यस्ता गैरकानुनी गतिविधिहरूबाट मानिसहरू बाहिरिने हो भने मानव तस्करीको जोखिम दैनिक रूपमा घट्नुको सट्टा अझ बढी मात्रामा बढ्न जाने सम्भावना कायमै रहनेछन्।
प्रतिक्रिया