होटल तथा रेस्टुराँमा सत्र जना बालश्रमिक



इलाम, २ फागुन । इलाम नगर क्षेत्रका छ दर्जनभन्दा बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएका छन् ।

जिल्ला बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९ वटा होटल तथा रेस्टुराँमा गरिएको अनुगमनमा १४ वर्ष माथि र १८ वर्षमुनि उमेर भएका १७ जना बालबालिका बालश्रमिकको रूपमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताउनुभयो ।

दुई जना १४ वर्षमुनिका बालबालिका समेत श्रमिकको रूपमा रहेको पाइएको छ । चौध वर्षमुनिका बालबालिकालाई बालश्रमिकको रूपमा लगाउन नहुने भए पनि उनीहरू आफन्त कहाँ बसेको र विद्यालय समेत जाँदै गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । यस्तै १५ जनामध्ये सात जना बालक र आठ जना बालिका बालश्रमिकको रूपमा काम गर्दै आएका छन् ।

बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ ले १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध ठानेको छ । ऐनमा १४ देखि १८ वर्षका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाइने व्यवस्था गरेको छ । तर त्यसको बेवास्ता गर्दै इलामका अधिकांश होटल तथा रेस्टुराँमा बालश्रमिक राख्ने गरेको पाइएको हो । यदि ललाइफकाइ काममा लगाए काममा लगाउनेलाई एक वर्ष कैद र रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

जिल्ला सदरमुकामका मात्र होइन नेपालटार, तीनघरे, फिक्कललगायतका बजार क्षेत्रमा होटल तथा निर्माणको क्षेत्रमा श्रमिक बालबालिका धेरै रहेको जिल्ला बालकल्याण समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्