रमेशकेशरी वैद्य
जन्मेदेखि मृत्यु नहुन्जेलसम्म सधैँ झगडा, लडाइँ। यो कस्तो प्रजातन्त्रिक मुलुक हो, खाली कुर्सी हत्याउन, कमाउन, खान–पिउन र नोकर मनस्थिति कायम राख्न मात्र जन्म लिएका हौं हामीले यो धर्तीमा ? जे होस्, अब यस्तो हुनुहुँदैन। लोकतान्त्रिक परिवर्तनशील मुलुकमा अब आएर नयाँ बुद्धिजीवीहरू राजनीतिक क्षेत्रमा प्रवेश गर्नुपर्दछ भने पुराना नेताहरूले बिस्तारै राजनीतिक क्षेत्रबाट संन्यास लिनुपर्दछ। मुलुकको लागि अब सबैले मिलेर देश विकास गर्ने दिशातर्फ जानुपर्दछ। अब यसका लागि ढिला गर्नुहुँदैन। ‘न रहन्छ बाँस, न बज्छ बाँसुरी’ भनाइको मतलव मुलुकमा विकास र शान्ति सबैलाई चाकिएको छ, स्वार्थको लागि अल्झेर बस्नुभएन।
अहिलेको परिप्रेक्ष्यमा हाम्रो जस्तो मुलुकमा नेताहरू मिल्नु र चुनाव गराउनु नै आर्थिक क्रान्ति तथा देश विकास हुनु हो। आर्थिक क्रान्ति भन्नाले राष्ट्रको ढुकुटीमा पुँजी कमी हुने, बेरोजगार बढ्ने र विकासका कार्यहरू ढिला गतिमा हुने अवस्थामा सबै जना आर्थिक समृद्धिका लागि लागिपर्नु हो। हामीले जतिसुकै नकारात्मक कुरा गरे पनि, नेतालाई, देशलाई गाली गरे पनि यथार्थमा भन्नुपर्दा अहिले आएर यी समस्याको बिस्तारै हल हुँदै जान लागेको आभास गर्न थालिएको छ। पानी, बिजुली, बाटोको निर्माण ढिला गतिमा भए पनि विकास भइराखेको मानिसले आभास गरेका छन्। तर ठूला–ठूला उद्योगका कुरा गर्ने हो भने, सर्वसाधारणका मनमा अझै निराशा छाएको छ। मुलुकमा रकम हुँदा पनि सरकार कडा हुन नसक्नु, कडा नीतिहरू ल्याउन नसक्नु, नेताहरूमा कलह हुनु, लगानीकर्ताहरूलाई सरकारप्रति विश्वास नहुनु आदि यसका कारण हुन्। यो कुरा भने बुझ्न गाह्रो भएको छ।
शिक्षाको कमी हो या कुर्सीको लालच हो, यी दुई कुराले हाम्रो जस्तो लोकतन्त्र आइसकेको मुलुकमा पनि कुनै न कुनै कुरामा कलह भइराखेको हुन्छ। जसले गर्दा देश, जनता, आउने पुस्ता सबैलाई असर गरी राखेको छ। मुलुक हाँक्नेहरू सबैले ठण्डा दिमागले कसैको दबाबमा नपरी मिलेर अघि बढ्ने हो भने यो देशको कायापलट हुन बेर लाग्नेछैन। यदि यसो हुने हो भने यो देशमा न त राजतन्त्र फर्कन्छ, न संघीयताको जरुरत पर्दछ। बदलामा जान्ने सुन्ने बुद्धिजीवीहरूको बोलवाला हुनेछ। यो त देशको लागि नै राम्रो हुने कुरा हो भने सतापक्ष, प्रतिपक्ष एवं तराईका नेताहरू एकपल्ट मुलुकको लागि किन एकजुट नहुने, देशलाई आफ्नो सम्झेर ?
मुलुकमा लोकतन्त्र प्राप्तिपश्चात् विकासभन्दा अनावश्यक कुरा, अनावश्यक माग र कलहले गर्दा हाम्रो समय यत्तिकै खेर गइराखेको छ। यस्तो समयमा हामी सधैँ यिनीहरूलाई गाली मात्र नगरी, नकारात्मक कुराहरू नगरी, यिनीहरूलाई कसरी सही बाटोमा ल्याउने त्यसको लागि प्रयास गर्नु हाम्रो पनि दायित्व हो। किनकि हाम्रो मुलुकमा पनि बुद्धिजीवीहरू नभएका होइन, तर यी बुद्धिजीवीहरूले अहिले भइराखेको विकृतिका लागि केही योगदान गर्ने सोच राख्ने हो भने पक्कै पनि समस्याको हल हुनेछ। यो हुनु भनेको नै देशको विकासको ढोका छिटो खोल्नु हो।
हामीले यी कुराहरू किन भन्नुपरेको भने, यहाँ मुलुक हाँक्नेहरू भागवण्डा गर्छन्। र, कुरा गर्छन् तर हरेक पल कुनै न कुनै कुरालाई लिएर बल्झिराखेका हुन्छन्।
यसले गर्दा विकासका कार्यहरू पनि यसैका साथ लट्किराखेका हुन्छन्। वास्तवमा यो देशको दुर्भाग्य भन्नु नै अनावश्यक नेता धेरै हुनु, नोकर मनस्थिति हुनु, नेताहरू नमिल्नु, सानो मुलुक भए पनि भाषा, जात, धर्म र सिमांकनका लागि झगडा भइराख्नु हो। यसले गर्दा ठूलो धक्का मुलुकको विकासलाई लागिरहेको छ। हामीले आफ्नो खुट्टामा आफैंले बन्चरो हिर्काइराखेका छौं। त्यसकारण एकपल्ट धेरै कुरामा परिवर्तन हुन जरुरी छ। करिब–करिब आर्थिक क्रान्ति भइसकेको देशमा शान्ति र विकास छिटो ल्याउने हो भने देश चलाउनेहरूले नै यो प्रणाली ऊ प्रणाली भन्ने विषय छोडेर, हिजोका रिस, भ्रम, भूललाई बिर्सेर मिल्नु जरुरी छ। अन्यथा नेपालीको कर्म यस्तै रहेछ भनेर बस्नुबाहेक अरु कुनै विकल्प छैन।
एकपल्ट फेरि भन्नुपर्दा हाम्रो मुलुकमा थरी–थरीको नोकर प्रवृत्ति छ। डलरको लागि चाकडी गर्ने, नेताहरूको चाकडी गर्ने, छिमेकीहरूको चाकडी गर्ने आदिलाई नोकर मनस्थिति भनिन्छ। खाने, पिउने र व्यस्ततामा भूलिरहने तर समाज र देशको लागि वास्ता नगर्नेलाई अल्लारे संस्कार भन्न सकिन्छ। यस्ता संस्कारमा परिवर्तन हुनु जरुरी छ।
प्रतिक्रिया