शाश्वतधामको उद्घाटन राष्ट्रपतिबाट हुने



नेपाल समाचारपत्र
नवलपरासी
नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्राम परिसरमा निर्मित शाश्वतधामको राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २४ गते उद्घाटन गर्नुहुने भएको छ।

सो कुरा चौधरी फाउन्डेसनले आइतबार आफ्नै उद्योगमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उद्घाटन कार्यक्रममा आर्टअफ लिभिङ फाउन्डेसनका संस्थापक, रवि शंकर, जगत्गुरु एवं शंकराचार्य जयेन्द्र सरस्वतीलगायत विभिन्न सन्त महन्तको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

कार्यक्रममा चौधरी ग्रुपका व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले आफ्नो प्रतिष्ठानको सामाजिक एवं मानवीय कल्याणकारी कार्यक्रमअन्तर्गत निर्मित शाश्वतधाम चितवन, नवलपरासीलगायत यस क्षेत्रकै धार्मिक धरोहरको रूपमा विकास गरिएको बताउनुभयो।

शाश्वतधाममा सनातन धर्मसँग सम्बन्धित एकाम्वरेश्वरा शिवालय, गुरुकुल पाठशाला, ध्यान तथा योगाहल, सांस्कृतिक सम्पदा केन्द्र, सात्विक भोजनालय, प्राचीन लिपि स्रोत केन्द्र, सहस्र शालिग्राम, बृहद् यज्ञशाला, गौशाला, कमलकुण्ड, दशद्वार, धर्मक्षेत्र तथा ढुंगेधाराहरू निर्माण गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्