खेतीयोग्य जमिनमा प्लटिङ



कविराज नेपाल, पाल्पा
जिल्लाका एक दर्जन बढी गाविसमा खेतीयोग्य जमिनमा प्लटिङ गरी तीव्र गतिमा पक्की घर निर्माण गर्नै क्रम बढेको छ।
मदनपोखरा, कसेनी, रूपसे चिदीपानी, हुमिन रामपुर, दर्छा, गेझा, हुगी, झडेवालगायतका गाविसमा धानखेती हुने उर्वर भूमि मासेर पक्की घर निर्माण गर्ने क्रम बढेको हो। यसरी उर्वर भूमिलाई प्लटिङ गर्दा उर्वर भूमि नै हराउने खतरा बढेको र धानखेती हुने जमिन नै हराउने सभावना बढेर गएको छ। पाल्पामा जग्गा प्लटिङ कार्यमा राजनीतिक व्यक्ति, नेपाल सरकारका कर्मचारी, विभिन्न पेसाकर्मी तथा जिल्लामा प्रमुख राजनैतिक पार्टीका नेता तथा कार्यकर्तासमेत संलग्न छन्।

यहाँको उर्वर भूमिका रूपमा चिनिएको रामपुर, माडी र अर्गलीमा धानखेती हुने खेतभन्दा घडेरीको काराबार बढी हुने गरेको मालपोत कार्यालयका कर्मचारी बताउँछन्। धानखेती हुने क्षेत्र मात्र नभई जिल्ला सदरमुकाम तानसेनको सिंगै पहाड कम मूल्यमा खरिद गरी घडेरीको स्वरूप तयार गरी दलाल लगाएर बिक्री गर्ने गिरोह नै क्रियाशील रहेको नाम नबताउने सर्तमा मालपोतका कर्मचारीले बताए। उनका अनुसार रातिमा समेत पैसा दोब्बर दिएका कारण कहिलेकाहीं काम हुने गरेको छ।

जिल्ला प्रशासन कार्यालयले यस विषयमा स्पष्ट कानुनको अभाव रहेका कारण समस्या आएको जनाएको छ। जानकारका अनुसार खेती नहुने ठाउँमा बस्ती बसाउने र उर्वर भूमिमा खेती गर्ने नीति सरकारले ल्याउनुपर्ने हुन्छ। जिविस पाल्पाका पूर्वसभापति प्रेमनाथ बस्यालका अनुसार यो प्रवृत्ति अत्यन्तै गलत हो र जग्गाको दलाली गर्नेलाई कडा कानुन ल्याई कारबाही गर्नुपर्छ। जग्गा व्यापारीका अनुसार कानुनले नरोक्दासम्म रोपनीको भाउमा जग्गा लिई घडेरीका रूपमा बिक्री गर्दा मुनाफा मनग्य हुने भएकाले जग्गा व्यापारीहरू यस कार्यमा लागेका हुन्।

जिल्लामा खेतीयोग्य जमिनलाई घरेडीका रूपमा प्लटिङ गरी किनबेच हुँदा हरेक वर्ष कृषि उत्पादनमा कमी आउन थालेको छ। खास गरी धान खेतीका लागि उर्वर भूमि मानिएको कसेनी, अर्गली र रामपुर क्षेत्रमा खेती योग्य जमिनलाई प्लटिङ गरी घरेडी बिक्रीवितरण हुने गरेको पाइएको छ। सिँचाइ सुविधा पर्याप्त भएको यस क्षेत्रमा घरेडी प्लटिङ गरी उत्पादन हुने खेत समेत बाँझै राख्दा उत्पादनमा ह्रास आएको स्थानीय बताउँछन्।

जमिनको मूल्य अत्यधिक बढ्दै गएपछि रातारात किनबेच हुने हुँदा कतिपय खेतियोग्य जमिन वर्षौंदेखि त्यसै खेर गएको देखिएको छ। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार रामपुर क्षेत्रको मात्रै धानखेती योग्य क्षेत्रफलमध्ये १.७ प्रतिशत घरेडी जमिनमा प्लटिङ गरिएको छ। कार्यालयका अनुसार यसरी खेतीयोग्य जमिन प्लटिङ हुँदा खेती उत्पादनमा समेत हरेक वर्ष कमी भएको छ। सरकारले भू–उपयोग नीति चाँडै नल्याउने हो भने केही वर्षभित्रै जिल्लाका धेरै ठाउँमा खेतीयोग्य तथा समथर भूभाग हराउँदै जा“दा खाद्यान्न संकट हुने अवस्था आउने कृषि विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्