रुपन्देहीमा ३१ दल दर्ता, साढे ४ लाख मतदाता



यमलाल भुसाल, बुटवल ।
सरकारले निर्वाचनको तयारी गरिरहंदा रुपन्देही जिल्लामा भने ३१ दल दर्ताको सूचिमा परेका छन् । ७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा ४ लाख ५० हजारको हाराहारीमा मतदाता छन् । ४ लाख ७५ हजार फोटो सहितको मतदाता नामवलीमा संकलन गरिएको छ भने जस्मा १६ बर्ष उमेर पुगेका नागरिक साढे ४ लाख छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा ३१ वटा राजनितिक दल दर्ता भएका हुन् । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा राजनितिक दल दर्ता गर्ने कार्यतालिका अनुसार रुपन्देहीमा ३१ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा पुस २५ देखि माघ १७ गतेसम्म दल दर्ताको समय थियो । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्ने बितिकै निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन आयोगले प्रक्रियागत काम थालेको जनाएको छ । नेपालमै धेरै दल दर्ता हुने मध्ये रुपन्देही पनि अग्रभागमा आएको हो । तराईको जिल्ला भएकाले मधेशकेन्द्रीत र केहि क्षेत्रिय दलहरुका कारण दल दर्ता अन्य जिल्लाको तुलनामा बढि देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देहीमा एक नम्बरमा ठूलो पार्टी नेपाली काग्रेसले दल दर्ता गराएको छ । दोस्रो दल नेकपा एमालेले नौं र तेस्रो दल नेकपा माओवादी केन्द्रले पाचौं नम्बरमा दल दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत हुमनाथ गौतमले बताउनु भयो ।

उहाँका अनुसार दास्रोमा राष्ट्रिय जनमोर्चा, तेस्रोमा नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिकले चौथौमा सदभावना पार्टीले दल दर्ता गराएका छन् । रुपन्देहीमा ३१ वटा मध्ये नेकपा माक्सवादीको नाममा छुट्टाछुट्टै कार्यसमिति विवरण सहित दल दर्ता भएकाले विवादित रहेको निर्वाचन अधिकृत गौतमले बताउनु भयो ।

यसैगरि राप्रपाले दुई पार्टी एक भएकाले महाधिवेशनपछि नामावली विवरण पठाउने भनी निवेदनमा उल्लेख गरेको छ । अधिकांश दलहरु दर्ता भएपनि मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले भने दल दर्ता गराएका छैनन ।

रुपन्देहीमा देशभक्त समाज, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नयाँ शक्ति नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल जनता पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल समावेशि पार्टी, नेकपा संयुक्त, नेकपा माक्सवादी, नेकपा माले, बहुजन शक्ति पार्टी, विवेकशिल नेपाली, शान्ति पार्टी, यूनाईटेड ग्रिन अर्गनाईजेशन, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, नेपाल मजदुर किसान पार्टी, नेकपा माक्सवादी, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो पार्टी, नेपाल लोकतान्त्रिक जनता काँग्रेस र नेकपा माले समाजवादीले दल दर्ता गराएका छन् ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दलको जिल्लागत विवरण लिने क्रममा जिल्लामा दल दर्ता गर्न सूचना प्रकाशन गरेको थियो । जिल्लामा दर्ता भएका राजनितिक पार्टीहरुले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् ।

केन्द्रमा दल दर्ताभएको प्रमाणपत्र र जिल्लाको कार्यसमितिको विवरण सहित राजनितिक दल दर्ताका लागि आयोगले सूचना निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्