कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति गठनको लहर



सीताराम चौधरी, चन्द्रौटा (कपिलवस्तु)
यतिबेला जिल्लामा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको चटारो बढेको छ। शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ को दफा १२ उपदफा १(क) बमोजिम माघभित्रै नयाँ समिति गठन गरिसक्नुपर्ने प्रावधान अनुसार समिति गठनको लहर चलेको हो।

ऐनको आठौं संशोधनमा विद्यालय व्यवस्थापन समिति गठन गर्न तीन चरण पार गर्नुपर्ने प्रावधान राखिएको चन्द्रौटा स्रोतकेन्द्रका स्रोतव्यक्ति देवेश प्रताप सिंहले जानकारी दिनुभएको छ। पहिलो चरणमा अभिभावकमध्येबाट दुई महिला सहित चारजना छनौट गर्नुपर्ने प्रावधान रहेको स्रोतव्यक्ति सिंहले बताउनुभयो। समितिमा विद्यालयका प्रधानाध्यापक स्वतः सदस्य सचिव र शिक्षकहरूको भेलाबाट छानिएका एक जना शिक्षक प्रतिनिधि रहने व्यवस्था छ।

दोस्रो चरणमा हलबाट छनौट भएका चारजना सदस्य, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि समेत जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी विव्यस सदस्यका लागि संस्थापक, शिक्षाप्रेमी, समाजसेवी र चन्दादातामध्येबाट एक महिला हुनेगरी दुईजना छनौट गर्नुपर्ने व्यवस्था गरिएको छ, स्रोतव्यक्ति सिंहले भन्नुभयो। तेस्रो चरणमा हलबाट छनौट भएका चारजना, विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र बैठकबाट छानिएका दुई समेतको बैठकले अध्यक्ष छान्ने व्यवस्था गरिएको सिंहको भनाई छ। स्रोतव्यक्ति सिंहका अनुसार प्रधानाध्यापक र शिक्षक प्रतिनिधिबाहेक छानिएका ६ जनामध्येबाट बहुमतको आधारमा एक जनालाई अध्यक्ष चुन्नुपर्ने व्यवस्था रहेको छ। यसैगरी अभिभावक भेलाबाट नै शिक्षक अभिभावक संघ छनौट गर्नुपर्ने ऐनमा व्यवस्था छ।

ऐन बमोजिम चन्द्रौटा स्रोतकेन्द्र अन्तर्गत हालसम्म २४ विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत गठन भइसकेको स्रोतव्यक्ति देवेश प्रताव सिंहले बताउनुभयो। उच्च मावितर्फ ४, मावितर्फ १, निमावितर्फ १० र प्रा.वि.तर्फ ९ विद्यालयमा व्यवस्थापन गठन भएको सिंहले जनाउनुभयो। विव्यस गठन भएका विद्यालयमध्ये उच्च मावितर्फ प्रकाश उच्च मावि सुन्दरीडाँडा, समयथान उच्च मावि खरेन्द्रपुर, जनकल्याण उच्च मावि बरकुलपुर र त्रिभुवन आदर्श उच्च मावि पिपरी रहेका छन्। मावितर्फ दुई विद्यालयमध्ये दुर्गा भवानी मावि नयाँबस्तीमा विद्यालय व्यवस्थापन समिति छनौट भइसकेको छ।

निमावितर्फ बालशिक्षा निमावि हल्लानगर, निमावि धर्मनगर, राष्ट्रिय निमावि डकहिया, नेपाल राष्ट्रिय निमावि भगवानपुर, सरस्वती निमावि बनियाभार, सरस्वती निमावि शिवपुर, सरस्वती निमावि झुसिया, सिद्धार्थ निमावि खैरी शिवराज निमावि धानखोला र निमावि मदवामा विव्यस गठन प्रक्रिया सकिएको स्रोतव्यक्ति सिंहले बताउनुभयो। यस्तै प्रावितर्फ बुद्धप्रावि हर्रहवा, जागृति प्रावि बनकसबासा, बालविकास प्रावि सुगानगर, किसान प्रावि चम्पापुर, देउराली प्रावि खरेन्द्रपुर, जनज्योति प्रावि धमौली, शिवगढी प्रावि विजगौरी लगायत ९ ओटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको उहाँले जानकारी दिनुभयो। सबै विद्यालयमा सर्वसम्मतिबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भइसकेको स्रोतव्यक्ति सिंहले बताउनुभयो। स्रोतकेन्द्र अन्तर्गत रहेका कूल ४६ सामुदायिक विद्यालयमध्ये अझै २२ ओटा सामुदायिक विद्यालयमा समिति गठन कार्यक्रम बाँकी रहेको उहाँले बताउनुभयो।

यसैबीच शिक्षा ऐनको आठौं संशोधनलाई अवलम्बन गर्दै कपिलवस्तुको शिवपुरस्थित सरस्वती निमाविमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। पूर्वअध्यक्ष एवं समाजसेवी जगतबहादुर जिसी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिको सदस्यमा तारे गिरी, बुधराम थारु, सुमित्रा गिरी र राजी चौधरी अभिभावक भेलाबाटै सर्वसम्मत छनौटमा पर्नुभयो। यस्तै व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डल सदस्य सचिव र शिक्षकहरूको सहमतिबाट सीताराम चौधरी शिक्षक प्रतिनिधि रहेका छन्। हलबाट छनौट भई आएका चारजनासहितको बैठकले शिक्षाप्रेमीबाट गीता बुढाथोकी र समाजसेवीबाट जगतबहादुर जिसीलाई छनौट गरेको थियो। पुनः आठ जनाको बैठकबाट जगतबहादुर जिसी विद्यालयको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।
यसैगरी अभिभावकहरूको भेलाबाट कृष्णकला भारती अध्यक्ष रहेको शिक्षक अभिभावक समिति समेत सर्वसम्मत गठन गरेको छ। जसको सदस्यहरूमा ऋषिराम खनाल, आशा थारु, मीना पन्थी, शान्ति पुन र रामप्रसाद पौडेल सर्वसम्मत चयन भएको विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि स्रोतव्यक्ति देवेश प्रताप सिंहले नव गठित समितिको सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासमा लाग्न सुझाव दिनुभयो। शैक्षिक गुणस्तर सुधारका अभिभावकहरू जागरुक हुनुपर्नेमा उहाँले औल्याउनुभयो। कार्यक्रममा निवर्तमान वडाध्यक्ष एवं विद्यालयका पूर्व सदस्य विष्णुप्रसाद अधिकारीले विद्यालयको नवगठित विव्यस पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिंदै विद्यालयको हितका लागि आफूले बाहिर बसेर पनि सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसी, भूपू शिक्षक विष्णु बहादुर जिसी लगायतले नयाँ समितिको कार्यसफलताको शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्