गाउँ निकाला गरिएका बृद्ध जोडीलाई गाउँलेहरुले गरे पुर्नस्थापना



अनिल खत्री/गुल्मी माघ १८ । अन्तरजातिय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस–५ का ७८ वर्षीय लालबहादुर सुनार र सोही स्थानकी ४३ वर्षीया सावित्रा न्यौपानेलाई भव्य समारोहकाबिच पुर्नस्थापित भएका छन् ।

पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेका थिए । अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेका थिए ।

आरोपित र स्थानीयले भत्काएको घर बनाई दिएपछि जिल्ला प्रसासन कार्यालय, अर्वेनी गाविस कार्यालय, जिल्लाका दलित अगुवा, मानवअधिकारकर्मी सहितको टोलीले उनीहरुलाई बाजागाजाको साथ घर भित्राइएको दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य कृष्ण सुनारले बताए । साझा मञ्चले आयोजना गरेको लाल बहादुर, सावित्रा पुर्नस्थापना कार्यक्रममा उनीहरुलाई सम्मान गर्नुका साथै घर प्रवेश गराइएको थियो ।

गाउँ निकाला आरोपितहरुले भत्काएको घर निर्माण गरिदिएपछि उनीहरुलाई बाजागाजा सहित उनीहरुलाई घर भित्राएको । पुर्नस्थापीत हुने जोडीलाई स्वागत गर्दै प्रजिअ कृष्ण प्रसाद ढुंगानाले उनीहरुलाई ढुक्कसंग समाजमा जिउने वातावरण प्रदान गर्न स्थानीयहरुलाई आग्रह गरे । गाउँ निकाला गर्ने बिरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा सामाजिक अपराध अन्तरगत उजुरी समेत दर्ता भएको थियो ।

पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका करिव ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका थिए । तर ३५ दिन काट्दा समेत आरोपितहरुलाई प्रहरीले गिरफतार गर्न सकिराखेको थिएनन ।

गाउँ निकालाको बिषयलाई लिएर विभिन्न संचार माध्यममा समाचार तथा रिर्पोटहरु प्रकाशन तथा प्रसारण भएपछि दलित आयोगका सदस्य गोविन्द सुनार लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियोे । साथै जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पुस १८ गते ज्ञापनपत्र समेत पठाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्