कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति गठनको लहर



?

सरस्वतीमा जिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), १८ माघ ।
यतिबेला जिल्लामा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको चटारो बढेको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ को दफा १२ उपदफा १(क) बमोजिम माघभित्रै नयाँ समिति गठन गरिसक्नुपर्ने प्रावधान अनुसार समिति गठनको लहर चलेको हो ।

ऐनको आठौं संशोधनमा विद्यालय व्यवस्थापन समिति गठन गर्न तीन चरण पार गर्नुपर्ने प्रावधान राखिएको चन्द्रौटा स्रोतकेन्द्रका स्रोतव्यक्ति देवेश प्रताप सिंहले जानकारी दिनुभएको छ । पहिलो चरणमा अभिभावकमध्येबाट दुई महिला सहित चारजना छनौट गर्नुपर्ने प्रावधान रहेको स्रोतव्यक्ति सिंहले बताउनुभयो । समितिमा विद्यालयका प्रधानाध्यापक स्वतः सदस्य सचिव र शिक्षकहरुको भेलाबाट छानिएका एक जना शिक्षक प्रतिनिधि रहने व्यवस्था छ ।

दोस्रो चरणमा हलबाट छनौट भएका चारजना सदस्य, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि समेत जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी विव्यस सदस्यका लागि संस्थापक, शिक्षाप्रेमी, समाजसेवी र चन्दादातामध्येबाट एक महिला हुनेगरी दुईजना छनौट गर्नुपर्ने व्यवस्था गरिएको छ, स्रोतव्यक्ति सिंहले भन्नुभयो ।

तेस्रो चरणमा हलबाट छनौट भएका चारजना, विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र बैठकबाट छानिएका दुई समेतको बैठकले अध्यक्ष छान्ने व्यवस्था गरिएको सिंहको भनाई छ । स्रोतव्यक्ति सिंहका अनुसार प्रधानाध्यापक र शिक्षक प्रतिनिधिबाहेक छानिएका ६ जनामध्येबाट बहुमतको आधारमा एक जनालाई अध्यक्ष चुन्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी अभिभावक भेलाबाट नै शिक्षक अभिभावक संघ छनौट गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

ऐन बमोजिम चन्द्रौटा स्रोतकेन्द्र अन्तर्गत हालसम्म २४ विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत गठन भइसकेको स्रोतव्यक्ति देवेश प्रताव सिंहले बताउनुभयो । उच्च मावितर्फ ४, मावितर्फ १, निमावितर्फ १० र प्रा.वि.तर्फ ९ विद्यालयमा व्यवस्थापन गठन भएको सिंहले जनाउनुभयो । विव्यस गठन भएका विद्यालयमध्ये उच्च मावितर्फ प्रकाश उच्च मावि सुन्दरीडाँडा, समयथान उच्च मावि खरेन्द्रपुर, जनकल्याण उच्च मावि बरकुलपुर र त्रिभुवन आदर्श उच्च मावि पिपरी रहेका छन् । मावितर्फ दुई विद्यालयमध्ये दुर्गा भवानी मावि नयाँबस्तीमा विद्यालय व्यवस्थापन समिति छनौट भइसकेको छ ।

निमावितर्फ बालशिक्षा निमावि हल्लानगर, निमावि धर्मनगर, राष्ट्रिय निमावि डकहिया, नेपाल राष्ट्रिय निमावि भगवानपुर, सरस्वती निमावि बनियाभार, सरस्वती निमावि शिवपुर, सरस्वती निमावि झुसिया, सिद्धार्थ निमावि खैरी शिवराज निमावि धानखोला र निमावि मदवामा विव्यस गठन प्रक्रिया सकिएको स्रोतव्यक्ति सिंहले बताउनुभयो । यस्तै प्रावितर्फ बुद्धप्रावि हर्रहवा, जागृति प्रावि बनकसबासा, बालविकास प्रावि सुगानगर, किसान प्रावि चम्पापुर, देउराली प्रावि खरेन्द्रपुर, जनज्योति प्रावि धमौली, शिवगढी प्रावि विजगौरी लगायत ९ ओटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको उहाँले जानकारी दिनुभयो ।

सबै विद्यालयमा सर्वसम्मतिबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भइसकेको स्रोतव्यक्ति सिंहले बताउनुभयो । स्रोतकेन्द्र अन्तर्गत रहेका कूल ४६ सामुदायिक विद्यालयमध्ये अझै २२ ओटा सामुदायिक विद्यालयमा समिति गठन कार्यक्रम बाँकी रहेको उहाँले बताउनुभयो ।

यसैबीच शिक्षा ऐनको आठौं संशोधनलाई अवलम्बन गर्दै कपिलवस्तुको शिवपुरस्थित सरस्वती निमाविमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । पूर्वअध्यक्ष एवं समाजसेवी जगतबहादुर जिसी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यमा तारे गिरी, बुधराम थारु, सुमित्रा गिरी र राजी चौधरी अभिभावक भेलाबाटै सर्वसम्मत छनौटमा पर्नुभयो ।

यस्तै व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डल सदस्य सचिव र शिक्षकहरुको सहमतिबाट सीताराम चौधरी शिक्षक प्रतिनिधि रहेका छन् । हलबाट छनौट भई आएका चारजनासहितको बैठकले शिक्षाप्रेमीबाट गीता बुढाथोकी र समाजसेवीबाट जगतबहादुर जिसीलाई छनौट गरेको थियो । पुनः आठ जनाको बैठकबाट जगतबहादुर जिसी विद्यालयको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यसैगरी अभिभावकहरुको भेलाबाट कृष्णकला भारती अध्यक्ष रहेको शिक्षक अभिभावक समिति समेत सर्वसम्मत गठन गरेको छ । जसको सदस्यहरुमा ऋषिराम खनाल, आशा थारु, मीना पन्थी, शान्ति पुन र रामप्रसाद पौडेल सर्वसम्मत चयन भएको विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि स्रोतव्यक्ति देवेश प्रताप सिंहले नव गठित समितिको सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासमा लाग्न सुझाव दिनुभयो । शैक्षिक गुणस्तर सुधारका अभिभावकहरु जागरुक हुनुपर्नेमा उहाँले औल्याउनुभयो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष एवं विद्यालयका पूर्व सदस्य विष्णुप्रसाद अधिकारीले विद्यालयको नवगठित विव्यस पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै विद्यालयको हितका लागि आफूले बाहिर बसेर पनि सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसी, भूपू शिक्षक विष्णु बहादुर जिसी लगायतले नयाँ समितिको कार्यसफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्