९० वर्षमा नागरिकता पाउँदा हर्षित



?

सीताराम चौधरी
कपिलवस्तु, १३ माघ ।
९० वर्षको उमेरमा नागरिकता पाउँदा कपिलवस्तु गुगौली ५ जर्लैयाकी पाती भर निकै हर्षित हुनुभयो । काल पर्खेर बसेको बेला नागरिकता पाउँदा नयाँ जीवन पाएको अनुभूति उहाँले सुनाउनुभयो । “उमेर छँदा नागरिकताको कुनै आवश्यकता नै भएन । नागरिकता नभई नहुने भएपछि बल्ल छोराहरुले चासो देखाए ।” –उहाँले भन्नुभयो ।

“श्रीमान्को मृत्यु भएको झण्डै ९ वर्ष भयो । उहाँको नाममा रहेको जग्गा छोराहरुले अंशबण्डा गर्दा पास हुन सकेन । अनि मेरो नाममा जग्गा नामसारी गर्नका लागि नागरिकता बनाउन बाध्य भएका हुन् ।” –उहाँले गुनासो गर्नुभयो । बुढेसकालमा नागरिकता पाउनुभएकी भरले अब त आफूले पनि भत्ता पाउने भएँ भनी खुशी व्यक्त गर्नुभयो ।

इलाका प्रशासन कार्यालयबाट बंशजका आधारमा भरले विहीबार नागरिकताको प्रमाण पत्र पाउनुभएको हो । इलाका प्रशासन कार्यालयका प्रमुख एवं उपसचिव मेघनाथ पाध्या र शाखा अधिकृत जगदीश अर्यालले हौसला थप्दै उहाँलाई नागरिकता प्रदान गर्नुभयो । पछिल्लो समय इलाका प्रशासन कार्यालय चन्द्रौटाले नागरिकताको पहुँचवाट टाढा रहेका वृद्धवृद्धालाई सजिलै तरिकाले नागरिकता वितरण गर्दै आएको कार्यालय प्रमुख पाध्याले बताउनुभयो ।

यसरी राज्यको सेवासुविधा प्राप्त गर्न नागरिकताबाट बञ्चित रहेका जेष्ठ नागरिकहरु नागरिकता बनाउन थालेको उहाँको दाबी छ । साथै नागरिकताविना जग्गा जमिन नै नामसारी र अंशबण्डा नहुने भएपछि उनीहरुलाई नागरिकता बनाउन बाध्यता बनेको हो ।

यता इलाका प्रशासन कार्यालय चन्द्रौटाले चालु आर्थिक वर्ष २०७३।०७४ को ६ महिनामा ४हजार ९सय ४३ थान नागरिकता वितरण गरिसकेको छ । गत साउनदेखि माघको १३ गतेसम्म कार्यालयबाट वंशजतर्फ २हजार ६सय ६५, अंगीकृततर्फ ३सय ८३ र प्रतिलिपीतर्फ १हजार ५सय ९५ नागरिकता वितरण गरेको शाखा अधिकृत अर्यालले जानकारी दिए ।

प्रशासनले गत आर्थिक वर्ष २०७२।०७३ मा वंशजतर्फ ३हजार ८सय १८, अंगीकृततर्फ ६सय ८३ र प्रतिलिपीतर्फ २हजार ७सय १८ नागरिकता वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्