शेयर दलालले १७ शहरमा शाखा खोल्न पाउने



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) शेयर दलाललाई १७ शहरमा शहरमा कार्यालय स्थापना दिने भएको छ। नेप्सेले मंगलबार जारी विज्ञप्ति गर्दै शाखा खोल्न दिने जनाएको हो। नेपाल धितोपत्र बोर्ड, नेपाल धितोपत्र एसोसिएसन, सिडीएसन एन्ड क्लियरिङ लिमिटेडलगायत सरोकारवाहरूसँग छलफलपछि सो निर्णयमा पुगेको नेप्सेले जनाएको छ।

नेप्सेले तत्कालका लागि एक करोड रुपियाँ नेटवर्थ भएको धितोपत्र दलाल व्यवसायीलाई रिर्मोट वर्क स्टेशन खोल्न दिने भएको छ। त्यस्ता कम्पनीहरूले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी २ करोड पुर्याउनु पर्ने छ।

शाखा कार्यलयमा कम्तीमा तीन थान कम्पुटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने, कार्यालयका लागि कम्तीमा ४०० वर्ग फिटको स्थान हुनुपर्ने, कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने, इमेल, इन्टरनेट, इन्ट्रानेट तथा सिसीटिभी जस्ता पूर्वाधारको व्यवस्था हुनुपर्ने तथा कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीको यथोचित व्यवस्था भएको हुनुपर्नेलगायतका शर्त नेप्सेले राखेको छ।

त्यस्तै शाखामा वाणिज्यशास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको व्यक्ति प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने छ। मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिव र ब्रान्च कोअर्डिनेटर⁄ कम्पलायन्स अफिसरको व्यवस्था समेत गर्नुपर्नेछ। ५० शेयर दलालमध्ये ९ वटाले यसअघि नै शाखा खोली कारोबार सञ्चालन गरिसकेको छन्।

यसैबीच मंगलबार नेप्से बजार २४ दशमलव ८९ अंकले झरेर १४३३ अंकमा पुगेको छ। यस दिन कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता शेयर ३८ करोड ५७ लाख रुपियाँमा किनबेच भएको छ।

मंगलबार बैकिङ समूह २५ दशमलव ९, होटल समूह १२ दशमलव ३२, विकास बैंक समूह २० दशमलव १५, जलविद्युत् समूह ३० दशमलव ४४, फाइनान्स समूह १८ दशमलव ४१, बीमा समूह १४० दशमलव ७४ र अन्य समूह ६ दशमलव ६५ अंकले झरेको छ। मंगलबारको कारोबारमा प्रभु बैंकको साधारण शेयर सबैभन्दा धेरै ३ करोड १८ लाख रुपियाँको शेयर कारोबार भएको छ। यसपछि एसियन लाइफ इस्योरेन्सको (संस्थापक) २ करोड ३५ लाख र प्रभु बैंक (संस्थापक) १ करोड ५७ लाख रुपियाँको किनबेच भएको छ। यस दिन राष्ट्रिय बीमा कम्पनी (संस्थापक) र ग्रिन डेभलपमेन्ट बैकका लगानीकर्ताले कमाएउने तथा खानीखोला जलविद्युत, लुम्बिनी फाइनान्सलगायतका कम्पनीका लगानीकर्ता बढी गुमाउनेमा परेका छन्

राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य ७ दशमलव ७ प्रतिशतले वृद्धि हुँदै शेयर मूल्य १२ हजार ५ सय ७८ रुपियाँ पुगेको छ। त्यस्तै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्