कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने मेडिकल कलेजलाई स्पष्टीकरण



राम धामी, डडेल्धुरा
टाभन्दा बढी विद्यार्थी भर्ना गरेको डडेल्धुरास्थित प्यारा मेडिकल कलेजलाई कारबाही गर्ने अभिप्रायले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सातदिने स्पष्टीकरण माग गरेको छ।

बुधबार सञ्चारमाध्यममार्फत् सार्वजनिक सूचना प्रकाशित गर्दै परिषद्ले सम्बन्धन प्राप्त प्यारा मेडिकल कलेजलाई संस्थाको भर्ना क्षमताभन्दा बढी विद्यार्थी भर्ना गरेका सन्दर्भमा स्पष्टीकरण माग गरेको हो। उपयुक्त स्पष्टीकरण पेस गरिहाले पनि कारबाही गर्नैपर्ने वैधानिक बाध्यता परिषद्सँग छ। कानुनी बाध्यताअनुसार कारबाहीका लागि स्पष्टीकरण माग गरिए पनि परिषद्ले प्यारा मेडिकलबाट पाउनुपर्ने घूस पाइसकेकाले केही समयका लागि पढाइ स्थगन गरेर क्याम्पसलाई समान्य कारबाही गर्ने आश्वासन परिषद्का उच्च अधिकारीले दिइसकेको सम्बद्ध स्रोतले जनाएको छ।

चालू शैक्षिक सत्र २०७३⁄०७४ का लागि सीएमए, अनमी, ल्याब असिस्टेन्ट र पीजेटीए विषयमा ४० सिटका दरले कुल १ सय ६० विद्यार्थी भर्ना गर्न कोटा पाएको प्यारा मेडिकल कलेजले परिषद्बाट पटकपटक प्रवाह गरेको सार्वजनिक सूचनालाई समेत अटेर गरी क्षमताभन्दा बढी १ सय ४९ विद्यार्थी थप भर्ना गरेको थियो। अवैधानिक रूपमा भर्ना गरिएका विद्यार्थीहरूले भविष्य बिग्रन सक्ने भन्दै आन्दोलित भएपछि प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

छानविन समितिले प्रतिवेदन पेस गरेपछि बुधबार क्याम्पससँग ७ दिने सार्वजनिक सूचना जारी गर्दै परिषद्ले स्पष्टीकरण मागेको हो। थप भर्ना गरिएका विद्यार्थीबाट प्रति व्यक्ति १ लाखका दरले घूस मागेर जसरी पनि कोटा थप्ने भन्दै क्याम्पसका निर्देशक शिलाकान्त झाले परिषद् कार्यालयलाई मिलाउने तयारी गरिरहेका थिए। उनले उच्चस्तरीय राजनीतिक नेतृत्वसम्म पुगेर लबिङ गरेपछि कमभन्दा कम सजाय गरेर मिलाउने प्रयास भइरहेको थाहा भएको छ। सम्बद्ध स्रोतहरूका अनुसार सीटीईभीटीका तत्कालीन कार्यकारी सचिवले रकम लिएर थप कोटाको अनुमति प्रदान गर्ने मौखिक सहमति दिएपछि झाले कुनै पनि विद्यार्थीको भविष्य नबिग्रने भन्दै पढाइ सुचारु गरिएको थियो। परिषद्का तत्कालीन कार्यकारी सचिव परिवर्तन भएसँगै नयाँ कार्यकारी सचिवले थप कोटाका लागि अनुमति दिन नसकिने अडान राखेका थिए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नियमावली २०५१ संशोधनसहितको नियम २२ (क) मा निर्धारित कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने र परिषद्को निर्देशन अटेरी गर्ने शिक्षण संस्थाहरूलाई परिषद्ले कुनै पनि विषयको तालिम केही दिनका लागि स्थगित गर्ने वा संस्थाले पाएको अनुमति रद्ध गर्न सक्ने कानुनी प्रावधान छ। सोही कानुन टिकेर केही दिन पढाइ स्थगन गरी प्यारा मेडिकल कलेजलाई कारबाही गर्ने र भर्ना भएका विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णयमा परिषद् पुगेको हो।

परिषद्द्वारा गठित छानविन समितिले कोटाभन्दा बढी विद्यार्थी भर्ना गरेको प्यारा मेडिकल कलेजलाई दोषी देखिएकाले कडा कारबाही गरेर विद्यार्थीहरूको भविष्य सुनिश्चित हुने व्यवस्था मिलाइनुपर्ने सिफारिस गरेको छ। घूस दिएर सामान्य कारबाही भोग्न परे पनि ठगी मुद्दामा जेल नै जान सक्ने अवस्थाबाट भने क्याम्पस सञ्चालकहरू मुक्त भएका छन्। ‘कानुन विपरीत काम गरेर पनि दोषीहरू सजायबाट मुक्त भएका छन्’, स्थानीय अगुवा पुष्पराज जोशीले भने– ‘यसबाट पैसा भएपछि जसले जे गरे पनि हुन्छ भन्ने सन्देश सम्प्रेषण भएको छ।’ स्थानीयले क्याम्पस उपर कडा कारबाहीको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्