कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने प्यारा मेडिकल कलेजलाई स्पष्टीकरण



Illustration with heart beat

(राम धामी)/ डडेल्धुरा, ७ माघ ।
कोटा भन्दा बढि विद्यार्थी भर्ना गरेको डडेल्धुरास्थित प्यारा मेडिकल कलेजलाई कारवाही गर्ने अभिप्रायले प्रावधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद (सीटीईभीटी) ले सात दिने स्पष्टीकरण माग गरेको छ ।

बुधबार सञ्चारमाध्यम मार्फत सार्वजनिक सूचना प्रकाशितगर्दै परिषदले सम्बन्धन प्राप्त प्यारा मेडिकल कलेजलाई संस्थाको भर्ना क्षमता भन्दा बढि विद्यार्थी भर्ना गरेका सन्दर्भमा स्पष्टीकरण माग गरेको हो । उपयुक्त स्पष्टीकरण पेश गरिहाले पनि कारवाही गर्नैपर्ने बैधानिक बाध्यता परिषदसँग छ । कानुनी बाध्यता अनुसार कारवाहीकालागि स्पष्टीकरण माग गरिए पनि परिषदले प्यारा मेडिकलबाट पाउनुपर्ने घुस पाईसकेकाले केहि समयकालागि पढाई स्थगन गरेर क्याम्पसलाई समान्य कारवाही गर्ने आश्वासन परिषदका उच्च अधिकारीले दिइसकेको सम्वद्ध श्रोतले जनाएको छ ।

चालु शैक्षिक सत्र २०७३/०७४ कालागि सीएमए, अनमी, ल्याव असिष्टेन्ट र पीजेटीए बिषयमा ४० सिटका दरले कुल १ सय ६० बिद्यार्थी भर्ना गर्न कोटा पाएको प्यारा मेडिकल कलेजले परिषदबाट पटक पटक प्रवाह गरेको सार्वजनिक सूचनालाई समेत अटेरगरि क्षमता भन्दा बढि १ सय ४९ विद्यार्थी थप भर्ना गरेको थियो । अवैधानिक रुपमा भर्ना गरिएका विद्यार्थीहरुले भविष्य बिग्रन सक्ने भन्दै आन्दोलित भएपछि प्रावधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद (सीटीईभीटी) ले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले प्रतिवेदन पेश गरेपछि बुधबार क्याम्पससँग ७ दिने सार्वजनिक सूचना जारीगर्दै परिषदले स्पष्टीकरण मागेको हो । थप भर्ना गरिएका विद्यार्थीहरुबाट प्रति ब्यक्ति एक लाखका दरले घुस मागेर जसरी पनि कोटा थप्ने भन्दै क्याम्पसका निर्देशक सिलाकान्त झाले परिषद कार्यालयलाई मिलाउने तयारी गरिरहेका थिए । उनले उच्च स्तरीय राजनीतिक नेतृत्वसम्म पुगेर लविङ गरेपछि कम भन्दा कम सजाय गरेर मिलाउने प्रयास भइरहेको थाहा भएको छ । सम्वद्ध श्रोतहरुका अनुसार सीटीईभीटीका तत्कालिन कार्यकारी सचिवले रकम लिएर थप कोटाकोे अनुमति प्रदानगर्ने मौखिक सहमति दिएपछि झाले कुनैपनि विद्यार्थीको भविष्य नबिग्रने भन्दै पढाई सुचारु गरिएको थियो । परिषदका तत्कालिन कार्यकारी सचिव परिवर्तन भएसँगै नयाँ कार्यकारी सचिवले थप कोटाकालागि अनुमति दिन नसकिने अडान राखेका थिए ।

प्रावधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद (सीटीईभीटी) को नियमावली २०५१ संसोधनसहितको नियम २२ (क) मा निर्धारित कोटाभन्दा बढि विद्यार्थी भर्ना गर्ने र परिषदको निर्देशन अटेरी गर्ने शिक्षण संस्थाहरुलाई परिषदले कुनैपनि विषयको तालिम केहि दिनकालागि स्थगित गर्ने वा संस्थाले पाएको अनुमति रद्द गर्न सक्ने कानूनी प्रावधान छ । सोहि कानून टिकेर केहि दिन पढाई स्थगनगरि प्यारा मेडिकल कलेजलाई कारवाही गर्ने र भर्ना भएका विद्यार्थीलाई परीक्षामा सहभाग िगराउने निर्णयमा परिषद पुगेको हो ।

परिषदद्वारा गठित छानबिन समितिले कोटा भन्दा बढि विद्यार्थी भर्ना गरेको प्यारा मेडिकल कलेजलाई दोषी देखिएकाले कडा कारवाही गरेर विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने व्यवस्था मिलाइनु पर्ने सिफारिस गरेको छ । घुस दिएर समान्य कारवाही भोग्न परेपनि ठगी मुद्दामा जेलनै जान सक्ने अवस्थाबाट भने क्याम्पस सञ्चालकहरु मुक्त भएका छन् । “कानून विपरित काम गरेर पनि दोषीहरु सजायबाट मुक्त भएका छन् ।” स्थानीय अगुवा पुष्पराज जोशीले भने, “यसबाट पैसा भएपछि जसले जे गरेपनि हुन्छ भन्ने सन्देश सम्प्रेषण भएको छ ।” स्थानीयले भने क्याम्पस उपर कडा कारवाहीको माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्