कपिलबस्तुमा चोरको जालो तोड्दै प्रहरी



(सीताराम चौधरी)/कपिलवस्तु, ७ माघ ।
मोटरसाइकल चोरी मुद्दामा फरार रही हालै पक्राउ परेका प्रतिबादी पुर्पक्षका लागि थुनामा परेका छन् । दाङको लमही नगरपालिका ९, चैलाहीका २० वर्षीय केशब महरालाई जिल्ला अदालत कपिलवस्तुले पुर्पक्षको लागि थुनामा पठाएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका १० बस्ने टोप बहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल चोरीको घटनामा संलग्न महरा हालसम्म फरार रहँदै आएका थिए । विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले गत पुस २८ गते प्रतिबादी महरालाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । जिल्ला अदालतमा पठाइएका प्रतिबादी महरालाई अदालतले तोकेको ७५ हजार धरौती जम्मा गर्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामा परेको भट्टराईले बताउनुभयो ।

सोही घटनामा रंगेहात पक्राउ परेका दाङको लमही नपा २, का १८ वर्षीय सन्तोष लामा र २१ वर्षीय लक्ष्मण चौधरी यसअघि नै थुनामा परिसकेका छन् । भने मोटरसाइकल चोरीका गिरोहमध्ये गत कार्तिक ११ गते वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको दाङको लमही नपा ८, बस्ने वर्ष ३० का वसिम खान र १७ वर्षीय अक्रुर न्यौपाने समेत थुनामा परिसकेका बताइएको छ ।

दुई महिनाअघि चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीको विगविगीसँगै प्रहरीले विशेष अभियान चालेको थियो । सोही क्रममा चन्द्रौटा क्षेत्रबाट चोरी भएका ५ ओटै मोटरसाइकल १० दिनभित्रै प्रहरीले दाङको विभिन्न स्थानबाट बरामद गर्न सफल भएको थियो । यस्तै हालसम्म प्रहरीले ५ जना मोटरसाइकल चोरका गिरोहलाई पक्रन सफल भएको प्रहरी निरीक्षक भट्टराईले जनाउनुभयो । मोटरसाइकल चोरीमा स्थानीयको संलग्नता रहेको बताउँदै भट्टराईले सम्पूर्ण गिरोहलाई कानुनी दायरामा ल्याउन विशेष अनुसन्धान अघि बढाइएको खुलासा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्