कवुलियत वनका नाममा अतिक्रमण बढ्दो



(राम धामी)/ डडेल्धुरा, ६ माघ ।

जिल्ला वन कार्यालय डडेल्धुराले वन व्यवस्थापन मार्फत जिविकोपार्जनमा सुधार ल्याउने उदेश्यले विपन्न समुदायलाई हस्तान्त्रण गरेका कवुलियत वन समुहनै वन अतिक्रमणमा संलग्न रहेको पाइएको छ ।

कवुलियत वन समुह गठन गरेर मापदण्ड अनुसार जिल्ला वन कार्यालयबाट हस्तान्त्ररण लिई वन अतिक्रमण गर्ने प्रवृती बढ्दै गएपनि नियन्त्रण गर्न पहल नभएको प्रति स्थानीयले गम्भीर चिन्ता ब्यक्त गरेका छन् । हालसम्म जिल्ला वन कार्यालय डडेल्धुराले एक सय ६० बढि कवुलियत वन हस्तान्त्ररण गरिसकेको छ । अधिकांस कवुलियत वन समुहले हस्तान्त्ररण लिएपछि कवुलियत वन क्षेत्रमा भागबन्डा गरेर खेतीपाती गरिरहेको र घर टहरा समेत निर्माण गरेको स्थानीयको गुनासो छ ।

हस्तान्त्ररण पश्चात पनि कवुलियत वन विकास कार्यक्रम मार्फत कवुलियत वन समुहलाई बर्षेनी लाखौं अनुदान दिइरहेको जिल्ला वन कार्यालय डडेल्धुराले कवुलियत वन क्षेत्रमा अतिक्रमण भएका सन्दर्भमा उपभोक्ताहरुबाट उजुरी आउने क्रम बढेको जनाएको छ । “एउटा कवुलियत वनक्षेत्र भित्र पक्की घर निर्माण गरिएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।” जिल्ला वन अधिकृत इन्द्रमणी भण्डारीले भने,“अशिग्राम गाविसको भात्काँडास्थित कवुलियत वन क्षेत्रमा पक्की घर निर्माण गरेको बिषयमा अख्तियारमा उजुरी परेको रहेछ, हामीकँहा पनि उजुरी आउन थालेका छन् ।”

आलु बिउ उत्पादक समुहका नामले कवुलियत वन गठन हुनुपुर्वनै सो जग्गा स्थानीय कृषक समुहले उपभोग गर्दै आएको र सोहि समुहले निर्माण गरेको पक्की घरका सन्दर्भमा अख्तियारमा उजुरी परेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार वास्तविकता बुझ्दा पहिला देखिनै आलु बिउ उत्पादक समुहका नाममा रहेको जगगा कवुलियन वन क्षेत्रमा पर्न गएको मात्रै हो । तर, स्थानीयले भने कवुलियत वन क्षेत्रमा वन अतिक्रण गर्ने नियतले घर निर्माण गरिएको बताएका छन् ।

“कवुलियत वन क्षेत्र अतिक्रमण गरेर घर निर्माण गरिएपछि दोषीलाई कारवाहीको मागगर्दै इलाका वन कार्यालय भात्काँडालाई आग्रह ग¥यौ,”एक स्थानीयले भने,“जिल्ला वन कार्यालयबाट हटाउन आदेश नआएको भन्दै इलाका वन कार्यालयले कारवाही गर्न अटेर गरेपछि बाध्य भएर अख्तियारमा उजुरी गरेका हौं ।” उनले वनकर्मी र कवुलियन वन समुहका अगुवाहरुकै मिलोमतोमा कवुलियत वन क्षेत्रमा अतिक्रमण भइरहेको बताए । उनका अनुसार अतिक्रमण गर्ने उदेश्यलेनै स्थानीयले कवुलियत वन समुह दर्ता गर्ने गरेका छन् ।

जिल्ला वन कार्यालय डडेल्धुराले भने कवुलियत वन क्षेत्रमा अतिक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याएर अतिक्रमण गरिएको वन क्षेत्र राष्ट्रियकरण गरिने जनाएको छ । जिल्ला वन अधिकृत भण्डारीले कवुलियत वन क्षेत्रमा अतिक्रमण भएको समस्याले गम्भीर रुप लिई नसकेको अवस्था भएपनि स्थलगत अनुगमनगरि कवुलियत वन क्षेत्रमा भएको अतिक्रमण हटाइने बताए । “कवुलियत वन क्षेत्रमा वन अतिक्रमण खासै सिरियस समस्याका रुपमा देखिएको चाही होइन् ।” उनले भने, “तर, अतिक्रमण भइरहेका सन्दर्भमा उजुरी आउने क्रम बढन थालेकाले चाँडै वास्तविकता बुझेर अघि बढ्ने योजना बनाएका छौ ।”

प्रतिक्रिया दिनुहोस्