मन्त्रालयहरुबीच समन्वय नहुँदा भवन निर्माणसंहिता कार्यान्वयनमा समस्या



विराटनगर, २ माघ ।
सहरी विकास तथा भवन निर्माण मन्त्री अर्जुननरसिंह केसीले मन्त्रालयहरुबीच समन्वय नहुदाँ भवन निर्माण संहिता पुर्ण कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । आइतबार विराटनगरमा १९ औँ भुकम्प सुरक्षा दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो मन्त्रालयले जारी गरेको संहिता स्थानीय विकास मन्त्रालय मातहतका स्थानीय निकायले पुर्ण रुपमा लागु नगराएको बताउनुभयो ।

यसले समस्या निम्त्याएको भन्दै उहाँले भन्नुभयो –‘नगरपालिकाहरुले भवन निर्माण संहिताको मापदण्ड पुरा नगरेका भवनको समेत नक्सा पास गरिन्छि, अनि भत्काउनु परे सहरी डिभिजन कार्यालय पुग्नु पर्छ ।’

१९९० सालमै गएको भुकम्प पछि नै सचेत हुन सकेको भए अन्य भुकम्पको बेला धेरै धनजनको क्षती नहुने भन्दै उहाँले परेको बेला मात्रै सम्झीने र पछि ध्यान नदिने बानिले नेपालीहरुलाई ग्रस्त पारेको बताउनुभयो । यही कारण संहिता पुर्णरुपमा लागु हुन नसकेको उहाँको भनाई छ ।

फरक प्रसंगमा संविधान संसोधन गरि मधेशी मोर्चा र आदिबासी जनजातीको असन्तुष्टि समेट्नु पर्ने भन्दै संविधान संसोधन मधेशी मोर्चाको मात्रै नभई काँग्रेसको पनि चासोको विषय रहेको बताउनुभयो । उहाँले ‘मधेशको पहिलो पार्टी काँग्रेस हो, काँग्रेसले तराई मधेशको असन्तुष्टि सम्बोधन गर्न खोजिरहेको छ ।’ भन्नु भयो ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले भुकम्पको कारण हुने क्षति रोक्न सर्वसाधारण सचेत हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्