माघेसंक्रान्तिको रौनक– रोचक साँढे जुधाई


रामहरि गजुरेल,
नुवाकोट,
शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास दैशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान साँढेहरुको रोचक घम्साघम्सी । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्यो । साँसद् रामहरि खतिवडा, बहादुरसिंह लामा लगायतका केही साँसदहरुसहित पुगेका रक्षामन्त्री बालकृष्ण खाँडले हजारौँ दर्शकहरुको माझमा उक्त ‘बुलफाइट’ को उद्घाटन गरे ।
गोरु युद्ध र यता काठमाडौंमा बढ्दो राजनीतिक द्धन्द्धसँग दाँज्न खप्पिस थुप्रै दर्शकहरुको भीडले यहाँको नाङ्गो पाखा रङ्गिन बनेर भरिभराउ थियो । ‘सिंहदरवारका साँढेहरूको जुधाई भन्दा त यस्तो साँढे जुधाई हेर्न पो मजा आउँछ’, गोरु युद्ध मैदानमा भिड्दै थिए, यता उत्साही दर्शकहरु उन्मुक्त हाँसोमा व्यङ्ग गर्दै रहन्थे । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन । सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ । भयंकर फराकिलो बारीको पाटोमा गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगिता २ सय वर्षअघिदेखी चल्दै आएको स्थानियहरुको कथन छ । यो गोरु जुधाई पर्व कुनै लहड अथवा आफूखुशीको पर्व नभएको संस्कृतिविद् र इतिहासकारहरु बताउँछन् ।
ईतिहासकार दिनेशराज पन्तका अनुसार नुवाकोटे शिलालेखमा उल्लेखित प्रमाणअनुसार यहाँ लिच्छवीकाल देखि नै गोरुजुधाइको प्रचलन कायम रहीआएको छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको मानेर निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्राको रुपमा स्थापित छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पत्रकार विष्णु तारुके बताउँछन् ।

एकै देशका नागरिकलाई मधेशी, हिमाली र पहाडीया जस्ता अनेकौँ नामका विभेदले बरु देश विभाजित हुने खतरा बढेको बताउँदै मन्त्री खाँडले संविधान संशोधनले मात्रै सबैलाई समेट्ने दाबी गरे । ‘सिंगो मधेशलाई नेपाली नदेख्ने अतिवाद राष्ट्रवाद हुन सक्दैन । बरु यसले देश र समाजलाई विभाजित बनाउँछ’, उनले भने । त्यसैले विपक्षी दल एमालेले संसोधन प्रकृयामा सहयोग गरेर अघि बढ्नुमा नै देशको हित हुनेमा स्पष्ट गराए । सोही अवसरमा सांसद रामहरि खतिवडा, बहादुर सिंह लामा लगायतले पनि गोरुजुधाईको परम्परालाई विकसित गर्दै आन्तरिक पर्यटन र विषेशगरी खेल पर्यटनमा राज्यकै प्रयासमा विकास गर्नुपर्ने बताए । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । त्यसका लागि एक महिनाअघि नै रिहर्सलमा सवैले आफ्ना बलवान गोरु देखाउन ल्याउँछन् । कुन साँढे कुनसंग जुधाउने, उमेर र साइज निक्र्याैेल गरिन्छ । साना आकारको चिटिक्क, टिनिक्क परेको छरितो ज्यानमा पुटुस्स परेको रहरलाग्दो जुरो । पोहोर साल जुधेर स्वाद थाहा पाएका साढेको हुँकार अझ हेर्न लायक हुन्छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढेहरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शककहरुको ताली र हुटिङले अर्को आकर्षण थपिदिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् । प्रतियोगितमा जसले पालेको गोरुले जित्छ उसैले हार्ने गोरु लैजाने चलन छ ।
आाफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भन्नुभयो, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।’

यस वर्ष १८ हल गोरु जुधाईएको छ । बिहीबार भएको प्रतियोगितमा सम्भुमान प्रधानको काले गोरु विजयी भएको छ । दिलितमान श्रेष्ठको लाले गोरुले अम्बर तामाङले पालेको बिच्छे गोरुलाई हराएको छ । विजयी गोरुका धनीलाई चार हजार र हार्ने गोरुका धनीलाई २ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेश शाक्यले जानकारी दिए । रक्षामन्त्री खाँडले गोरु जुधेको हेर्दा आफूलाई निकै रमाइलो लागेको भन्दै उनले गोरुहरु एकछिन जुधेर छुट्टिएजस्तै नेताहरुले पनि अनेकौं तर्क वितर्क गरेर विवाद गरिरहनु नहुने र मिलेरै संविद्यान संसोधन अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै नेपालको ऐतिहासिक स्थल बेत्रावतीमा पनि ८ हल गोरु जुधाइएको छ । गएको ७ वर्ष देखि बेत्रावतीमा पनि माघे सक्रान्तिमा गोरु जुधाउन थालिएको हो ।