डिभाइडर निर्माणले सवारी दूर्घटनामा कमी



(यमलाल भुसाल)/ बुटवल, २२ पुस ।
बुटवलमा बनाईएको चार लेनको सडक विस्तारसँगै बाटो क्रस गर्ने विभिन्न स्थानहरूमा डिभाइडरहरू खडा गरेपछि सवारी दूर्घटनामा कमी आएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा पश्चिमाञ्चल  फाईन्यास, मिलनचोक  नयाँ बस पार्क अगाडी अस्पताल लाईन नेपालगञ्ज सडक लगायतका स्थानमा डिभाइडरहरू राखे पछि यस क्षेत्रको सवारी आवागमनमा सहज भएको स्थानियले बताएका छन ।

सडकको विभिन्न स्थानमा डिभाइडरहरू राखे पछि मादक पदार्थ सेवन गरि भाग्ने र ई–रिक्सालाइ  समस्या भएको बताईएको छ ।

जथाभावि स्थानवाट सडक पार गर्दा ट्राफिक  व्यवस्थापनमा समस्या भएकोले सडकको बढी चाँप हुने  स्थानको छनौट गरि डिभाइडरहरू राखेको पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनु भयो ।

डिभाइडरहरू राखे पछि दूर्घटनामा कमी आएको समेत उहाँले बताउनु भयो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले बाटो क्रस गर्ने विभिन्न स्थानहरूमा डिभाइडरहरू खडा गरेर ई–रिक्सालाई नाकाबन्दीको जस्तै व्यवहार गरेको उनीहरुले बताएका छन् ।

रिक्सा व्यवसायी संघ बुटवलले  पत्रकार सम्मेलन गरी यात्रु र अति आवश्यक क्षेत्रमा लगाइएका डिभाइडरहरु हटाएर ई–रिक्सा चल्न पाउने व्यवस्था मिलाइदिन सरोकारवाला निकायसंग आग्रह गरेको हो ।

संघका अध्यक्ष कृष्णप्रसाद तिवारीले ट्राफिक व्यवस्थापनको नाममा जथाभावी सृजना गरिएका डिभाइडरहरूलाई हटाएर देवीनगर, ईटाभट्टी, अमरपथ लगायतका क्षेत्रबाट चढ्ने यात्रुहरू सुुख्खानगर दीपनगर, आम्दा अस्पताल, कालिकानगरसम्म जान सक्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

अध्यक्ष तिवारीले अञ्चल हस्पिटल अगाडी र राजमार्ग चौराहामा यात्रुको सहजताका लागि जेब्राक्रस खुल्ला गर्न आग्रह गर्नुभयोे । रिक्सा चालकहरुलाई रिक्सा निषेधित क्षेत्रमा पार्किड्ड गरेको भन्दै जथाभावी रूपमा ५ सयदेखि एक हजार रूपैयाँसम्म प्रहरीले जरिवाना  काटेर दुःख दिने गरेको समेत उहाले बताउनुभयो ।

केही महिना अगाडिदेखि ट्राफिक प्रहरीले सवारी दुर्घटना बढेको भन्दै ई–रिक्सालाई राजमार्ग चौराहा, पश्चिमाञ्चल फाइनान्स अगाडि, अञ्चल अस्पताल अगाडि, पुष्पलाल पार्क,  विद्युत कार्यालय अगाडिका क्रसिङ्ग पार गर्न रोक लगाएको छ ।

संघका अनुसार संघमा ३ सय ५ ई रिक्सा दर्ता भएका छन् भने बुटवल क्षेत्रमा एक हजार १८  ई–रिक्सा संचालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्