इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका श्रीषलाई



गुल्मी, २२ पुस । गुल्मीको शिद्धबाबा उमाविका प्रधानाध्यापक डोरबिक्रम श्रीष इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत संस्था एकाउन्टबिलिटी ल्याबले हरेक वर्ष घोषणा गर्दैैे आएको इन्ट्याग्रीटी आइडलको तेस्रो संस्करण यसपटक श्रीषले प्राप्त गर्न सफल भएका हुन् ।

बिजेता श्रीषलाई विहिवार काठमाडौंको कार्की पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा इन्ट्याग्रीटी आइडल २०१६ को प्रमाणपत्र प्रदान गरिएको हो । निजामति कर्मचारीले मात्रै पाउँदै आएका यस उपाधि पहिलोपटक शिक्षकले प्राप्त गरेका छन् ।

कुल प्राप्त ९७ हजार भोट मध्ये श्रीषले ४१ हजार बढी भोट प्राप्त गरेका थिए । सन् २०१४ मा तात्कालिन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल बिजेता भएका थिए भने सन् २०१५ मा तात्कालिन गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल बिजेता भएका थिए ।

उत्कृष्ट पाँचमा पर्न सफल मध्येबाट भोटिङको आधारमा बिजेता घोषणा गरिएको थियो । इन्ट्याग्रिटि आइडलका लागि १५ फेब्रुअरी २०१६ बाट चार महिनाको लागि मनोनयन खुल्ला गरीएको थियो । जस अन्तरगत देशका ६७ वटा जिल्लाबाट जम्मा ८३८ मनोनयन प्राप्त भएको थियो ।

इन्ट्याग्रिटि आइडल ले तय गरेको पूर्व निर्धारीत मापदण्डलाई आधार बनाएर बिभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलको गठन गरी उत्कृष्ट पाँचको छनोट गरीएको थियो ।

उत्कृष्ट पाँचमा श्रीषसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप–सचिव भिष्म कुमार भुषाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, बागेश्वरी उमाबि, भक्तपुरका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी परेका थिए ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१६ को छनोट गरिएको आयोजक एकाउन्टबिलिटी ल्याबका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्