आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ: मन्त्री शर्मा

0
Shares

काठमाडौँ, १२ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताउनुभएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई सफलतामा पु¥याउन समाजका सबै तह र तप्काको उत्तिकै सहयोग जरुरी रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकालाई मात्रै विद्युत्भार कटौतीमुक्त गर्दा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ भन्दै उहाँले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको जलविद्युत् क्षेत्रमा सबै नेपालीले सहज रुपमा लगानी गर्न सक्ने गरी कार्यविधि बनाइएको उल्लेख गर्नुभयो ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा तय गरेर एकाध वर्षभित्र उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै बूढीगण्डकी, नलसिंहगाड, अरुण, सुनकोसीजस्ता आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

सामान्य रुपमा बिजुली बाल्ने मात्रै नभई आर्थिक समृद्धिका लागि विद्युत्को उपभोगसमेत बढाउनुपर्नेमा जोड दिँदै उहाँले १० हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए मुलुकको परिवर्तन गर्न कुनै पनि समस्या छैन भन्दै उहाँले त्यसका लागि राजनीतिमा जारी रहेको ‘राजनीतिक लोडसेडिङ’को समेत अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा पाटन संयुक्त क्याम्पसका प्रमुख अमन श्रेष्ठले प्राज्ञिक क्षेत्रबाट जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिका लागिसहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङले सरकारले योजना दिए सम्पूर्ण विद्यार्थीलाई जलविद्युत् क्षेत्रको विकासमा लगाउन आफूहरुले पहल गर्ने बताउनुभयो । कार्यक्रममा गायक बाबु बोगटीले गीतमार्फत युवा तथा विद्यार्थीलाई सिर्जनशील र सक्रिय बन्न आग्रह गर्नुभएको थियो । रासस