‘मोर्चाले नमाने पनि चुनाव घोषणा गर्छु’


काठमाडौं, (नेस)

सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्ध प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चाले अस्वीकार गरे पनि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ। उहाँले मधेसी मोर्चाले सहमति नजनाए तापनि सरकारले चुनावको घोषणा गर्ने बताउनुभएको हो।

सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि बसेको चार दलको बैठकमा एमालेले निर्वाचन गर्न सरकारले किन नचाहेको भन्ने प्रश्न गरेको थियो। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले कसैले नमान्ने संविधान संशोधन प्रस्ताव ल्याएर चुनाव गर्छु भन्ने सरकारको आशय आफूले नबुझेको बताउनुभयो।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै रावलले भन्नुभयो– ‘संविधान संशोधन विधेयक जे सुकै होस्, मोर्चाले माने पनि नमाने पनि सरकारले चुनावको घोषणा गर्छ।’ संविधान संशोधन विधेयक पास गराउने बारेमा आफूसँग प्रधामन्त्रीले आग्रह नगरेको उहाँले बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले बुधबार सभामुखको कार्यकक्षमा प्रमुख चार दलको बैठकमा स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्नुभएको थियो। स्थानीय निकाय पुनर्संरचनासम्बन्धी आयोगले समयमै प्रतिवेदन नदिए के गर्ने भन्नेबारे छलफल भएको थियो। कांग्रेस, एमाले, माओवादी र राप्रपा गरी चार दलका नेताहरू सहभागी बैठकमा प्रधानमन्त्रीले एमालेसँग धारणा माग्नुभएको थियो।