अमृत अर्याल, स्याङजा
मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि धेरै नागरिक अझै पनि नागरिकता विहीन छन्। नेपाली जनताले आफ्नो कानुन आफैं बनाउनुपर्छ भनेर गरेको आन्दोलनले मुलुकमा सबैको अधिकार सुनिश्चित गर्ने भनेर संविधान उल्लेख गरिएको पनि छ।
सबै अधिकार सुनिश्चित भएको संविधान आए पनि अझै केही नागरिकहरू नागरिकताबाट बञ्चित हुँदै आएका छन्। त्यस्तै कथा बनेको छ स्याङ्जाको वालिङमा। स्याङ्जाको वालिङ नगरपालिक ६ की जमुना विक यतिबेला नागरिकता र बच्चाको जन्म दर्ता गरिदिन वालिङ नगरपालिका र इलाका प्रशासन कार्यालय धाउन थालेको ८ महिना बितिसकेको छ। २०५१ सालमा वालिङ–६ का स्थानीय तोपबहादुर विकसँग वैवाहिक जीवनमा बाँधिएकी जमुनाले २०७३ सालसम्म आइपुग्दा न नागरिकता पाएकी छन,न त दुई छोरीको जन्मदर्ता नै गर्न पाएकी छन्।
२०६२ सालबाट श्रीमान् बेखबर भएपछि अहिलेसम्म उनी विवाह दर्तादेखि नागरिकता, छोरीको जन्मदर्ता गर्नबाट बञ्चित हुनुपरेको छ। २०६१ सालसम्म श्रीमान्–श्रीमतीको राम्रो सम्बन्ध भए पनि २०६२ सालबाट श्रीमान् बेखबर छन्। श्रीमान आउने बाटो कुर्दाकुदै अहिले ११ वर्ष पुगेको छ। तर जमुनाले श्रीमान्को कुनै अत्तोपत्तो पाएकी छैनन्। माइतीतिरका बुवाआमासमेत गुमाइसकेकी जमुनाले श्रीमान् र श्रीमतीबीचको विवाह दर्तापछि मात्रै नेपाली नागरिकता पाउनेछिन्। तर श्रीमान् र श्रीमतीबीचको विवाह दर्ता नभएका कारण नागरिकता र दुई छोरीको जन्मदर्तासमेत हुन सकेको छैन।
जसले गर्दा जमुना चिन्तित छिन्। लामो समय श्रीमान्को बाटो कुरेर बसेकी जमुनाले अब श्रीमान् आउने कुनै सुइको नपाएपछि नागरिकताका लागि २०७३ साल वैशाखबाट वालिङ नगरपालिका धाइरहेकी छिन्। तत्कालीन नगर प्रमुख सुरथ पोखरेलले विशेष वडा मुचुल्काको आधारमा सिफारिस गरिदिए पनि नागरिकतामा सनाखत गर्ने पारिवारिक व्यक्ति नभएकाले इलाका प्रशासन कार्यालय वालिङले नागरिकता दिन नमिल्ने बताएपछि अहिले उनी अलपत्र अवस्थामा परेकी हुन्।
प्रतिक्रिया