सुत्केरी आमाको निधनपछि काजकिरियामा बसेका छोरीलाई आर्थिक सहयोग



अनील खत्री, गुल्मी
आमाको मृत्युपछि काजकिरिया बसेका १३ वर्षकी संगीता र ११ वर्षकी रमितालाई सहयोग प्राप्त भएको छ। गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेको खबरबाहिर आएसँगै उनीहरूलाई तत्कालका लागि काठमाडौंमा रहेका कलश बहुउद्देश्यका कोषाध्यक्ष राम महर्जनले तत्काल किरियाखर्चका लागि रु. ५ हजार सहयोग गरेका छन्।

महर्जनले परिवारमा आर्थिक समस्या भएको भन्ने खबर पाउनासाथ तत्कालै परिवारलाई राहतका लागि भन्दै उक्त रकम सहयोग गरेको बताए। महर्जनले दुई छोरीलाई कक्षा १० सम्म निःशुल्करूपमा पढाउने व्यवस्था मिलाउन परिवारजनसँग आग्रह गरेका छन्। पुर्काेट दह–१ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि दुई छोरी किरियामा बसेका हुन्। उनीहरू अहिले आमाको किरियामा मात्रै छैनन् आमालाई दागबत्ती दिने र घाटसम्म बोक्नका लागि समेत सहयोग गरेका थिए। कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन्।

मंसिर ३ गते उपचारको क्रममा उनको निधन भएको थियो। ‘पक्षघातको कारण उहाँको निधन भएको हो। ८ र ६ वर्षका अरू दुई छोरीलाई भने सानै भएका कारणले किरियामा नराखिएको कुँवरले बताए। उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिका छोरीलाई भने एक जनाले स्थानीयले धर्मछोरी बनाएर पाल्छु भनेर लगेका छन्। दुर्गाकुमारी सुत्केरी भएको ४ दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन्। आर्थिक अभावका कारणले उनलाई कतै पनि उपचार गर्न लगिएको थिएन। स्थानीयका अनुसार उनलाई सिकिस्त भएपछि उपचारका लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल पर्याइएको थियो।

उपचारका लागि बढी नै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेको हो। दुर्गाप्रसाद र दुर्गा कुमारीको परिवार गाउँकै गरिबमध्येको एक परिवार रहेको स्थानीय बताउँछन्। दुर्गाप्रसादको कुनै पनि आय–आर्जनको बाटो छैन। अहिले १३ दिनको काम गर्नका लागि समेत सहयोग संकलनको काम भइरहेको शिक्षक बोमबहादुर कुँवरले बताए। ‘उहाँहरूसँग सम्पत्तिको नाममा गोठमा एउटा भैंसी छ’, कुँवरले भने– ‘अहिले अलिकति संकलन गर्न सक्यौं भने बच्चीहरूले पढ्दा राहत महसुस त गर्लान्।’ दुर्गाकुमारीको परिवार गरिब भएकै कारणले दाजुभाइले किरियासमेत गर्दिन नमानेको उनको भनाइ छ। घर व्यवहार र अरू व्यवस्थापनका लागि श्रीमान्लाई किरियामा नराखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्