भगवती तिमल्सिना
नेपाल एक भूपरिवेष्टित मुलुक भएकै कारण जडिबुटीदेखि वातावरणले पनि कतिपय रोगसँग लड्ने क्षमता प्रदान गर्दछ। यस्ता विषयमा अध्ययन अनुसन्धान गरी नेपाललाई स्वर्गभूमि बनाउनेतर्फ हरेक व्यक्तिले आआफ्नो स्थानबाट पहल गरी नीति निर्माण तहमा घचघच्याउन सके मात्र देशले कोल्टो फेर्न सक्ने विज्ञहरूको भनाइ रहेको छ।
दक्षिण एसियाली फिजिओलोजिस्ट संघ (साप) को पाँचौं वार्षिक सम्मेलन तथा फिजियोलोजिकल सोसाइटी अफ नेपालको दोस्रो वार्षिक सम्मेलन काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको सम्मेलनमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजूले २० वर्षको अवधिमा सबैभन्दा बढी मेडिकल शिक्षा र सञ्चार क्षेत्रको विकास भएको कुरा औंल्याउँदै फिजियोलोजी भनेको मेडिकल शिक्षाको मुटु हो भन्नुभएको थियो। उहाँले नेपालको इतिहासमै हेर्ने हो भने पनि नेपालीहरू व्यक्तिगत रूपमै भए पनि मानिसको शरीरलाई स्वस्थ राख्नका लागि सक्दो सहयोग गर्छन् भन्ने कुरा २ वर्षअघि गएको महाभूकम्पले देखाएको बताउनुभयो।
उहाँले त्यति बेला भूकम्पमा परी घाइते भएका ९४ प्रतिशत व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्थानीय जनताले नै खानदेखि उपचारका लागि आवश्यक सहयोग गरेको बताउँदै नेपाल फिजियोलोजीका क्षेत्रमा अनुसन्धान गर्ने उपयुक्त थलो हो भन्ने कुरालाई यसले पुष्टि गरेको बताउनुभयो। आम नेपालीको भावना सबै व्यक्ति स्वस्थ रहून् भन्ने पाइएको र नेपालको भू–बनोट, वातावरण, आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा फिजियोलोजीको अनुसन्धान गर्न अत्यन्तै उपयोगी थलो भएकाले ५०औं विषय बनाउन सकिने उपकुलपति माकजुको ठम्याइ थियो।
उपकुलपति माकजु भन्नुहुन्छ– ‘काठमाडौं विश्वविद्यालय एउटा सानो विश्वविद्यालय हो र यसले धेरै काम गर्न सक्छ। विश्वविद्यालयमा अध्ययन अनुसन्धानका लागि थुप्रै आधारहरू छन्। अस्पतालमा गरिब जनतालाई कसरी उपचारको पहुँचमा पुर्याउने, सामाजिक, आर्थिक रूपमा कसरी सक्षम बनाउने भन्ने पनि अर्को विषय हो। गुणस्तरीय शिक्षा र अनुसन्धान कक्षाकोठामामा मात्र नभई समुदायमा गएर पूरा गर्न सकिन्छ।’
यसका लागि धुलिखेल अस्पतालले २३ वटा सामुदायिक स्वास्थ्यसेवा केन्द्रहरू बालुवा स्वास्थ्य केन्द्र, काभ्रे, बाहुनीपाटी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक, बोल्देफेदिचे स्वास्थ्य केन्द्र, काभ्रे, छत्रे देउराली स्वास्थ्य केन्द्र, धादिङ, दाप्चा स्वास्थ्य केन्द्र, काभ्रे, गोदामचौर स्वास्थ्य केन्द्र, ललितपुर, कात्तिकेदेउराली स्वास्थ्य केन्द्र, काभ्रे, सलम्बु स्वास्थ्य केन्द्र, काभ्रे, खरीखोला स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक, हिम्दी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक, मानेखर्क स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक, ढुंखर्क स्वास्थ्य केन्द्र, काभ्रे, किर्नेटार स्वास्थ्य केन्द्र, दोलखा, फलबास स्वास्थ्य केन्द्र, पर्वत, दोर्पु स्वास्थ्य केन्द्र, सोलुखुम्बु, गौरी शंकर सामुदायिक अस्पताल, दोलखा, याङ्रीमा स्वास्थ्य केन्द्र्र, थाङसिङ स्वास्थ्य केन्द्र, नुवाकोट, दुम्जा स्वास्थ्य केन्द, सिन्घुली, आँपपीपल सामुदायिक अस्पताल, गोरखा, तामाकोसी सहकारी अस्पताल, सिन्धुपाल्चोक, सहज सामुदायिक अस्पताल, नवलपरासी, बयलपाटा अस्पताल, अछाममार्फत् सेवा प्रदान गर्दै आएको छ।
ती केन्द्रहरूमा प्राथमिक स्वास्थ्यसेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले चिकित्सकहरूको नियमित भ्रमण तथा विभिन्न विशेषज्ञसहितका टोलीहरूका विशेष शिविरहरू सञ्चालन गरी स्वास्थ्यसेवा पुर्याउँदै आएको डा. माकजु बताउनुहुन्छ।
यसका साथै आफूले विभिन्न बिषयमा अनुसन्धान गर्ने सोच राखेको तर यो धेरै खर्चिलो भएको बताउनुभयो। अनुसन्धानमा खर्च मात्र नभई यसका लागि लगनशीलता, धैर्य र मेहनतको खाँचो पर्ने जनाउँदै अनुसन्धानका विषय भने आफू सामु ५० भन्दा बढी रहेको जनाउनुभयो। आगामी दिनमा हुने सम्मेलनका लागि समेत विश्वविद्यालयको ढोका खुला रहेको समेत उहाँले प्रस्ट्याउनुभएको थियो। नेपाल भौगोलिक, वातावरणीय, उच्च पहाड तथा हिमशृंखला तथा तराई मधेसले पूर्णता पाएको एउटा ऐतिहासिक भूमि भएको देश भएकै कारण जल, जमिन, जंगल मात्र नभई फरकफरक परिवेशमा हुर्किएका प्राणीहरूको समेत फरकफरक ढंगले अनुसन्धान गर्न सकिने उहाँको ठम्याइ रहेको थियो।
नेपाल एक भूपरिवेष्टित मुलुक भएकै कारण जडिबुटीदेखि वातावरणले पनि कतिपय रोगसँग लड्ने क्षमता प्रदान गर्दछ। यस्ता विषयमा अध्ययन अनुसन्धान गरी नेपाललाई स्वर्गभूमि बनाउने तर्फ हरेक व्यक्तिले आआफ्नो स्थानबाट पहल गरी नीति निर्माण तहमा घच्घच्याउन सके मात्र देशले कोल्टो फेर्ने बताउँदै यदि आफैंले गर्न सकिने काममा पनि अरूको मुख ताक्ने र यो भएन त्यो भएन भन्ने हो भने कसले गर्ने भन्नुभयो। सबैले सक्दो कोसिस गरौं र नीति निर्माण तहलाई दबाब दियो भने हरेक दिन गुनासो होइन काम गरेर फुर्सद नहुने र हरेक मानिस स्वस्थ जीवन जिउन पाउने डा. माकजु भन्नुहुन्छ।
अनावश्यक चिन्ताले पनि मानिसमा तनाव र मानसिक असन्तुलन हुने हुनाले हरेक क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नो क्षमताको विकासका लागि अध्ययन, अनुसन्धान र खोजीको बाटोमा लाग्न पहिला योजना बनाएर अघि बढेको खण्डमा अवश्य लक्ष्य प्राप्ति हुन्छ र मानसिक र शारीरिक रूपमा पनि आनन्द मिल्ने उहाँले बताउनुभयो। जब मानिस आफूले गरेको काममा सफलता पाउँछ ऊ अझ केही गरौं भन्ने जोस जाँगरका साथ ऊर्जाशील समय सही काममा लगाउँछ र रोग, शोक र भयमुक्त हुन्छ। यस्ता व्यक्तिलाई आफ्नो स्वास्थ्यको भन्दा उसको स्वास्थ्य समस्याको समाधानको विषयमा अध्ययन अनुसन्धान गर्नमै फुर्सद हुन्न। नेपाल यी कामका लागि अत्यन्तै उपयोगी भूमि भएकाले नीति निर्माण गर्ने निकायले पनि विशेष ध्यान दिएर काम गर्नु जरुरी भएको उहाँले बताउनुभयो। यति बेलाको राजनैतिक खिचातानी व्यक्ति या कुनै समूहको स्वार्थमा देखिन्छ यसले देश र जनताको हित नहुने भएकाले सबैको हितमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो।
उहाँले २ वर्षपछि हुने सम्मेलनका लागि नेपाल उपयोगी थलो हुन सक्ने र यसबाट एकआपसमा दक्षिण एसियाली मुलुकका चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी र सर्वसाधारणले समेत नयाँनयाँ विषयमा छलफल गरी समस्याको समाधान खोज्न सकिने उपयुक्त थलो भएको उहाँले बताउनुभयो।
सम्मेलनको नारा ‘रिडफाइन हेल्थ नेचर’ रहेको थियो। सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, अमेरिकालगायत १६ वटा मुलुकका फिजिओलोजिस्ट, चिकित्सक तथा वैज्ञानिकहरूको सहभागिता रहेको छ। ३ दिने सम्मेलनमा क्रियाविज्ञान र फिजियोलोजीको आधारभूत प्रक्रियादेखि हालसम्मको प्रगतिबारे छलफल भएको अध्यक्ष प्राडा तारामान अमात्यले बताउनुभयो। पर्यटकीय दृष्टिले समेत उत्तम थलो धुलिखेलमा सम्मेलनमा सहभागीहरूले काभे्रको धुलिखेल, पनौती, नाला, पलाञ्चोक, दाप्चा, नमोबुद्ध, दोलालघाटलगायतका क्षेत्रको भ्रमण गर्नुका साथै वातावरणीय रूपमा पाएको आनन्दलाई मुक्त कण्ठले प्रसंशा गरेका थिए। सहभागीहरूले आगामी दिनमा नयाँ कार्यक्रम र योजनाका साथ नेपाल आउने प्रतिबद्धतासमेत जनाएका थिए। मनमोहक हिमाली शृंखला तथा उच्च पहाडी भेगको समेत खुला आँखाले अवलोकन गर्न पाउँदा उनीहरूलाई स्वर्गीय आनन्दको अनुभूति भएको धारणा व्यक्त गरेका थिए।
डा. अमात्य भन्नुहुन्छ– शरीरका विभिन्न प्रणालीसँगै न्युरोसाइन्सेस, स्वस्थ जीवनशैली, योग, ध्यान, खेल चिकित्सा विज्ञान तथा उच्च उचाइ शरीर विज्ञानबारे विस्तृत रूपमा छलफल गरी समस्याको समाधानको उपाय खोज्ने अनुसन्धानमूलक कार्यक्रम तय गरिएको थियो। शरीर विज्ञानबारे जनचेतनाको कमी हुनुका साथै शहरी जीवन शैलीका कारण हृदयाघात, उच्च रक्तचाप, मधुमेह, दमरोग, क्यान्सर, निराशापन बढ्दै गएको विषयमा पनि छलफल केन्द्रित थियो। यस्ता विषयमाथि गहन अनुसन्धानका लागि नेपाल आफैंमा ठूलो प्रयोगशाला भएको पनि उहाँले बताउनुभयो।
संघका अध्यक्ष प्राडा नोरजाहन बेगमले नेपालमा हँुदै गरेको सम्मेलन समस्याको समाधान गर्न र सहकार्य गर्न फलदायी हुने कुरामा आफू विश्वस्त भएको बताउनुभयो। तीन दिनसम्म चलेको सम्मेलनमा सहभागी हुँदाको समय अत्यन्तै फलदायी र उपयोगी छलफलमा बितेको उहाँको अनुभव छ। ऊर्जा बोकेको भूमि नेपालमा धेरै राम्राराम्रा अध्ययन अनुसन्धान गर्न सकिने र यस्ता कार्यका लागि आफू अत्यन्तै उत्साहित भएकाले भविष्यमा नेपाल केन्द्रित कार्यक्रमका लागि संघले थप योजना तय गर्न समेत बाटो खुलेको उहाँको ठम्याइ छ।
त्यस्तै संघका महासचिव प्रा. अमर के चन्दर, अमेरिकाका प्रा. रबोट बी क्यारोललगायतले सम्मेलनको महत्त्वका बारेमा आफ्ना धारणा राखेका थिए। प्रा. रबोटले भूबनोट र वातावरणको धनी मुलुक नेपालका जनतालाई स्वस्थ र सुन्दरताका लागि प्रकृतिले नै साथ दिएको छ। यसलाई व्यवस्थित गरी अघि बढेको खण्डमा नेपाल एउटा स्वर्गभूमि हुनेछ र पर्यटकीय स्वास्थ्य केन्द्र बन्न सक्छ भन्नुभयो।
प्रतिक्रिया