ब्युँतियो बारपाक होमस्टे

0
Shares

सन्तोष अधिकारी, बारपाक, गोरखा
कुनै समय नेपालकै नमुना होमस्टेबाट पुरस्कृतसमेत भएको बारपाक होमस्टे फेरि शुरू भएको छ। डेढ वर्षअघि यही बारपाकलाई केन्द्र विन्दु बनाई गएको विनाशकारी भूकम्पका कारण देशकै नमुना बनेको होमस्टे बन्द भएको थियो।

भूकम्पपश्चात विभिन्न संघसंस्थाद्वारा टेन्ट, जस्तापातालगायतका सामान सहयोग गरेर होमस्टेलाई टेवा पुर्याउन खोजे पनि पीडामा परेका बारपाकीले सहजै होमस्टेलाई उठाउन सकेनन्। डेढ वर्ष बन्द भएर बारपाक होमस्टे पुनः सञ्चालन भएको हो।

बारपाकमा भूकम्प पहिले १७ घरमा होमस्टे सुविधा थियो। आन्तरिक तथा बा≈य पर्यटकलाई बारपाकमा आकर्षण बढाउन २०६६ सालमा सेभेन सिस्टरले बारपाक होमस्टे विधिवत् रूपमा दर्ता गरी सञ्चालन गरेपछि शुरू भएको हो। अहिले पुनः बारपाकीले होमस्टेलाई ब्युँताएका छन्।

‘बारपाक आउनेहरूले यहाँ भएको र उहाँ उब्जाउ हुने जस्तो खानेकुरा खान खोज्छ त्यस्तै उपलब्ध हुन्छ’, बारपाक होमस्टे सञ्चालन समितिका कोषाध्यक्ष पुरबहादुर घलेले भने– ‘हाम्रो विशेषता भनेको बारपाकमा उब्जाउ भएको कोदोको ढिँडो, सिस्नुको खोले हो। यो पनि होमस्टेमा बस्न आउने पाहुनालाई सोधेर मात्र तयार गर्छाैं। नत्र दालभात अनि सागसब्जीहरू भने यहीं उत्पादन भएकै खुवाउँछौं। आफूहरूले होमस्टे सञ्चालन गरे पनि पहिलेकै जस्तो गरी पाहुनालाई सेवा दिन सकेका छैनौं।’ अहिले पाँच घरमा होमस्टे सञ्चालन भइसकेको र हरेक घरमा ६ जनासम्म राख्न सक्ने क्षमता रहेको उनी बताउँछन्। अन्य १४ घरमा पनि होमस्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पुरबहादुर बताउँछन्। अन्य तीनवटा घरमा पनि होमस्टे सञ्चालन हुने भए पनि ती घरहरूमा भने निर्माण शुरू भएको छैन। बारपाकीले अब १ दिनमा ५० जनाभन्दा धेरै बारपाक पुगेका पाहुनालाई पारिवारिक वातावरणमा होमस्टेमा सेवा दिन सक्नेछन्। अहिले होमस्टे ब्युँताउन बारपाकमा कार्यरत संस्था स्वाँरा सघन गाउँ विकास केन्द्रले पनि सहयोग गरेको स्थानीय बताउँछन्। स्वाँरा सघनले होमस्टेमा चाहिने फर्निचरका सामानहरू, कुर्सी, टेबल, जस्तापातालगायतका सामग्रीहरू सहयोग गरेको सो संस्थाका नर्मजंग रोकायले जानकारी दिए।

पर्यटकीय बारपाक गाउँमा आन्तरिक तथा बा≈य पर्यटकहरू भित्रिने क्रम शुरू भइसकेको स्थानीयहरू बताउँछन्। भूकम्पपछि बारपाकमा धेरै होटलहरू पनि खुलेका छन्। ती होटलहरूले बारपाकीको अस्तित्वको रूपमा रहेको होमस्टेलाई भने प्रभाव पारेको होमस्टे सञ्चालक समितिका कोषाध्यक्ष पुरबहादुर बताउँछन्। बारपाकमा भूकम्प यता आफूखुसी घर बनाउने क्रम बढेको छ। यसले भने बारपाकको मौलिक सुन्दरता शून्यमा पुगिसकेको छ। पहिले ढुंगा तथा सल्लाको काठले छाएको एकै नासका घर भएका बारपाकमा अहिले ठूलाठूला, थरीथरीका घरहरू निर्माण भएको छ। त्यसैले केही बारपाकीहरू आफ्नो मौलिक अस्तित्वहरू भने गुम्न लागेको भन्दै चिन्तित छन्।