नेपाल समाचारपत्र
बाँके
श्वासप्रश्वासमा समस्या रहेकी ५५ वर्षीया जैसीदेवी केसीलाई डाक्टर गोपाल श्रेष्ठले नर्सिङहोममा पठाउनुभयो। आफन्तीहरूका अनुसार, नर्सिङहोममा ल्याइएकी केसीलाई बेड मिलाउन दुई घण्टा लाग्यो। बल्लबल्ल राखे पनि उपचारमा त्यस्तै ढिलासुस्ती भयो। केसीको शुक्रबार राति मृत्यु भयो। अस्पतालको लापरबाहीले मृत्यु भएको निष्कर्षमा पुगेका आफन्तीको आक्रोश बढ्यो। शनिबार बिहान आफन्तीले आक्रोश पोखे। एक नर्समाथि हातपात भयो। बिरामीको नाम टाँस्ने ड्राफ्ट र गमलाले हानियो। अस्पतालमा तनाव भयो।
केसीका परिवारले अस्पतालले कमजोरी स्वीकार्नुपर्ने अडान राखे। प्रहरीलाई राखेर दुई पक्षका बीचमा वार्ता भयो। वार्तापछि अस्पताल प्रशासनले विज्ञप्ति निकाल्यो– ‘हाम्रो कमजोरीले केसीको मृत्यु भयो। आउँदा दिनमा यस्तो कमजोरीलाई सच्याएर अघि बढ्छौं।’
मान्छे मर्दा कमजोरी स्वीकार गरेको अस्पतालले विज्ञप्तिमा भनेको छ– ‘यस अस्पतालको चिकित्सा प्रणालीलाई परिमार्जित र सुदृढीकरण गरी मध्यपश्चिमकै सुलभ र प्रभावकारी अस्पताल निर्माण गर्नेछौं भन्ने प्रतिबद्धता गर्दछौं।’
केहीअघि रोल्पाका एक बिरामीको मृत्यु हुँदा पनि आफन्तीले अस्पतालले लापरबाही स्वीकार गरेर आउँदा दिनमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाउन दबाब दिइएको थियो। यस घटनामा बिरामीको मृत्यु भएको एक घण्टापछि औषधि मगाइएको थियो।
‘अस्पताल प्रशासनको कमजोरीले गर्दा उपचारमा आएका बिरामी मर्दै जाने र त्यसप्रति क्षमायाचना मागेर कहिलेसम्म बच्ने ?’, भुक्तभोगीहरू भन्छन्– मध्यपश्चिमको सुलभ र प्रभावकारी अस्पताल बनाउन राम्रो सेवा दिनुपर्छ।’ यी दुई घटनाका पीडितले अस्पतालसँग पैसा मागेनन्। आफूहरूलाई जस्तो लापरबाही अरू बिरामीलाई नहोस् भन्ने चाहना राखे। पैसा मागेको भए अस्पतालले अर्को आरोप लगाउन सक्थ्यो। केसीलाई अस्पतालले आफ्नो शववाहनमा राखेर घरसम्म पुर्याइदिएको छ। छोरा डिल्लीसहितको परिवारले मृतकलाई घरतर्फ लगेका छन्।
मध्य र सुदूरपश्चिमका सुविधा सम्पन्न मानिने नर्सिङहोममा बेलाबेलामा यस्तो कमजोरी देखिइरहेका छन्। जुन अस्पतालका लागि राम्रो मानिँदैन। अस्पतालमा बिरामीको चाप बढिरहेको छ। केसीको हकमा पनि अस्पतालले अत्यधिक चापले गर्दा भर्ना प्रक्रियामा विशेष परिस्थिति उत्पन्न भएको स्वीकार गरेको छ।
प्रतिक्रिया