तराईलाई पहाडसँग मिसाउन हुँदैन भन्नु राष्ट्रघातः ओली

0
Shares

यमलाल भुसाल, बुटवल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संरचनामा तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित र राष्ट्रघाती भएको बताउनुभयो।

भारतमै समेत कतिपय प्रदेश तराई र पहाड मिलेर बनेको उदाहरण दिँदै अध्यक्ष ओलीले तर नेपालमा तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित र राष्ट्रघाती रहेको स्पष्ट पार्नुभयो। अन्त असफल भएपछि पाँच नम्बर प्रदेशका पहाडका जिल्ला टुक्रइएर तराईलाई अलग गराउने कोसिस भइरहेको उल्लेख गर्दै उहाँले यो माग कसले, किन र के उद्देश्यले राखेको हो भनी प्रश्न गर्नुभयो। ‘पाँच नम्बर प्रदेशका जनताले यो विषय उठाएकै छैनन्, जनताको भावना विपरीत हुने गरी त्यसखालको प्रस्ताव आए एमाले विपक्षमा उभिन्छ।’ –ओलीको भनाइ थियो।
नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मुलुकको कार्यभार संविधान कार्यान्वयन गरी निर्वाचन गर्नु रहेकाले अन्य कुरामा नअल्झिन कार्यकर्तालाई आग्रह गर्नुभयो।

अरूको स्वार्थ पूरा गर्न संविधान संशोधन गर्न नसकिने र संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्दै उहाँले अरू कसैको मागलाई जनताले स्वीकार नगर्ने बताउनुभयो। अहिले मुलुकको कार्यभार संविधान कार्यान्वयन गरी निर्वाचन गर्नु रहेकाले अन्य कुरामा नअल्झिन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो। ‘कार्यान्वयनका क्रममा अप्ठेरो आए मात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै देशबाहिरबाट आएको मागलाई जनताको भावना विपरीत एमालेले स्वीकार गर्दैन।’ –ओलीले भन्नुभयो।

उहाँले अंगीकृत नागरिकता लिएका व्यक्तिलाई संवैधानिक पदमा पुर्याउने गरी संविधान संशोधन गर्न नसकिने बताउनुभयो। नागरिकताको विषयमा संसारमै कहीं नभएको खुकुलो प्रावधान नेपालमा रहेको भन्दै ओलीले यसलाई बरु सच्याउनुपर्नेमा झन् खुकुलो बनाउने गरी नियोजित षड्यन्त्र रचिएको दाबी गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनको विषयमा सिंगो पार्टीपंक्ति एकताबद्ध भएको उल्लेख गर्दै पहाड र मधेलाई छुटइउने गरी आउने कुनै पनि प्रस्ताव देशको हितमा नहुने बताउनुभयो। पार्टीका महासचिव ईश्वर पोखरेलले २०७४ माघसम्म तीनै तहको निर्वाचन गराउने दिशामा सरकार नलागेर त्यसलाई अलमल्याउने र सत्ता टिकाउने दिशामा मात्र लागेको भन्दै देशलाई संवैधानिक जटिलतामा फस्न नदिन अब कार्यकर्ता पंक्तिबाट खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो।
पार्टीका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशलाई विभाजन गर्न खोजिए सडक आन्दोलनबाट त्यस्तो प्रयासलाई विफल पारिने चेतावनी दिनुभयो। उहाँले एमाले पाँच नम्बर प्रदेश कमिटीले मंसिर महिनामा सम्पूर्ण कमिटीका बैठक, पुसमा प्रशिक्षण, माघमा घरदैलो र फागुनमा जनसभाको आयोजना गर्ने गरी योजना निर्माण गरेको जानकारी दिनुभयो।