सम्पदा निर्माणमा अचम्मको मापदण्ड दाताले जे गरे पनि ठीक, अरूले गरे बेठीक



ईश्वरराज ढकाल, काठमाडौं
पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको गोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न रोक लगायो। मापदण्ड विपरीत निर्माण गर्न लागेको आरोप लगाउँदै तत्काल पुनर्निर्माण रोक्न आदेश दियो। अहिले सो मन्दिरको पुनर्निर्माण कार्य ठप्प छ।

त्यस्तै काठमाडौं भ्याली प्रिजरर्भेसन ट्रष्ट( केभीपीटी)ले विश्वसम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा एउटा मन्दिर पुनर्निर्माण गर्दै छ, त्यो पनि मापदण्ड विपरीत। विभागले त्यसले गरेको काम टुलुटुलु हेरिरहेको छ। फरक यति छ विदेशीको सहयोगमा सञ्चालित केभीपीटीले बनाएको सम्पदा राम्रो, काठमाडौं महानगरपालिकाले गरेको खराब।

कामपाले विभागकै मापदण्डअनुसार पुरानै शैलीमा मन्दिर बनाउँदा पनि विभागले पटक पटक चिठ्ठी काट्यो र भन्यो– ‘तत्काल निर्माण रोक।’ विभागले आफ्नो बलले नभ्याएपछि युनेस्कोसँग गुहार माग्यो र युनेस्कोलाई समेत पत्र काट्न लगायो। युनेस्कोको क्षेत्राधिकारभित्र नपर्ने रानीपोखरीको मन्दिर पुनर्निर्माण रोक्न पत्र काटेकोमा कामपा स्वयं छक्क पर्यो र विभागलाई भन्यो– ‘अब हामी काम रोक्छौं। तपाईंहरू नै बनाउनुस्।’

‘अहिले विभाग आफैले बनाउने भनेको छ, हामीले हात झिकिसक्यौं।’ –कामपा भौतिक विकास विभागका निर्देशक उत्तरकुमार रेग्मीले नेपाल समाचारपत्रसँग भन्नुयो। कामपाले मन्दिरबाहेकका काम गरिरहेको छ। मन्दिर बनाउने जिम्मा विभागले लिएको छ। सरकारी निकायले सरकारीलाई नै पत्र काटेर निर्माण रोक्न आदेश दिने विभागले सबैको आँखाले देख्ने गरी हनुमानढोका दरबारक्षेत्रमा पुनर्निर्माण गरिरहेको लक्ष्मीनारायणको मन्दिर पुनर्निर्माण रोक्न आदेश दिन सकेको छैन।

केभीपीटीले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका करिब एक दर्जन सम्पदा पुनर्निर्माण गर्ने जिम्मा लिएको छ। काम शुरु भएको मध्ये हनुमानढोका कालभैरव पछाडिको लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण गर्दा स्टिल र फलाम प्रयोग गरेको छ। सम्पदा क्षेत्रमा बर्जित गरिएको सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्दा विभागले देखेको छैन। विभागका महानिर्देशक भोषनारायण दाहालले पुनर्निर्माण गर्दा स्टिल र फलाम प्रयोग गरेको विषयमा प्रश्न गर्दा भन्नुभयो– ‘ए हो र⁄ म यो विषयमा तत्काल बुझ्छु।’ विभागले त्यसो भनिरहँदा काम सुचारु भइरहेको छ।

विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबारक्षत्रमा भइरहेको कामको विषयमा विभागले चासो देखाएको छैन। विभागका विश्व सम्पदा शाखाका प्रमुख इन्जिनियर सरेश श्रेष्ठले मापदण्ड विपरीत काम गर्नेमाथि कारबाही गर्ने बताउनुभयो। ‘हामी तत्काल पत्र काटनेछौं।’ –उहाँले भन्नुभयो। खतराको सूचीमा पर्ने चेतावनीपछि सुस्त गतिमा काम शुरु गर्न थालेको विभागले कामको अनुगमन गरेको छैन। फलाम र स्टिल प्रयोग गरेको विषयमा केभीपीटीका कार्यक्रम निर्देशक रोहित रञ्जितकारले भन्नुभयो– ‘बलियो बनाउन कहीं कतै स्टिल र फलाम प्रयोग गरेका छौं।’

विभागले सहमति दिएको हो त भन्ने विषयमा उहाँले भन्नुभयो– ‘अहँ छैन। बलियो बनाउन सानो ठाउँमा मात्रै स्टिलको प्रयोग गरेका हौं।’ हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यालयका प्रमुख करुण नकर्मीले प्राचीन स्मारक संरक्षण ऐनविपरीत कुनै पनि संरचना पुनर्निर्माण गर्न नहुने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो– ‘विभागसँग सल्लाह गरेर थप काम अघि बढाउने विषयमा निर्णय गर्नेछौं।’

महानिर्देश्क दाहालले भने मनपरी रूपमा पुनर्निर्माण गरिएको फेला पारे काम नै रोकाइने चेतावनी दिनुभयो। ‘हामीले काम शुरु गरिसकेका छौं, विभागले यस्तो सामग्री प्रयोग नगर भन्यो भने हटाउँछौं।’ –रञ्जितकारको भनाइ थियो। प्राचीन स्मारक संरक्षणसम्बन्धी कार्यविधि–२०६४ को बुँदा नम्बर २ को ‘ख’मा मौलिक आकारप्रकार, स्वरूप तथा प्रविधिको सकभर पुनप्रयोग गर्ने उल्लेख छ।

सोही कार्यविधिको ८ नम्बर बुँदामा झइल ढोकाका चौकोस तथा खापा बाङ्गिएका छन् भने सकेसम्म पुरानो सामग्रीलाई सोझइई प्रयोग गर्नुपर्छ। पुरानो सामग्री प्रयोग गर्न नसकिने अवस्थामा पुरानै शैली र स्वरूपमा सोही प्रकृति र गुणस्तरका सामग्री प्रयोग गरी जीर्णोद्धार गर्नुपर्ने उल्लेख छ। कार्यविधिमा प्रस्ट उल्लेख भएको विषयलाई बेवास्ता गरी फलाम र स्टिल प्रयोग गरेकोमा विभागले आपत्ति जनाएको छ।

२०३२ सालमा जीर्णोद्धार गर्दा सिमेन्टको पिलर बनाएर निर्माण गरिएको रानीपोखरीको गोपालेश्वर मन्दिर पुरानै शैलीमा बनाउने सहमति गर्दा त निर्माण रोक्न आदेश दिने विभागले पुरानो शैलीको मन्दिर पुनर्निर्माणमा फलाम र स्टिल प्रयोग गर्दा देखेको नदेखेझैं गरेको छ। केभीपीटीका कार्यक्रम निर्देशक रञ्जितकारले आफ्नो जिम्मामा भएका सबै सम्पदा नियम संगतरूपमा बनाएको दाबी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्