हनुमानढोका बनाउन १ अर्ब

0
Shares

काठमाडौं, (नेस) विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न झण्डै १ अर्ब रुपियाँ लाग्ने भएको छ। दातृ निकाय र हनुमानढोका विकास समितिको मूल्याङ्कनको आधारमा सो रकम लाग्ने अनुमान गरिएको हो।

हनुमानढोका विकास समितिका इन्जिनियर गोपाल झाले भूकम्पले ध्वस्त भएका सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब रुपियाँ लाग्ने जानकारी गराउनुभएको छ। उहाँले सबै सम्पदाको ड्रइङ, डिजाइन र कस्ट स्टिमेट गर्दा करिब एक अर्ब रुपियाँ लाग्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘विभाग आफै र दातृ निकायको सहयोगमा निर्माण गर्न लागेको सम्पदाको लागत करिब १ अर्ब रुपियाँ लाग्ने देखिन्छ।’ हालसम्मको लागत स्टिमेटअनुसार काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १९ करोड, दश अवतार ३ करोड ५० लाख, कृष्ण मन्दिर ३ करोड, माजुदेग ५ करोड, जगन्नाथ ७० लाख, गोपीकृष्ण ४० लाख, तलेजु ७ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ।

त्यस्तै गद्दी बैठक र नौतले सँगैको सम्पदा पुनर्निर्माण गर्न ४ करोड, त्रिभुवन संग्रहालयको ठूलो लङका लागि १० करोड, मोहनकाली र सुन्दरीचोक अगाडिको भाग पुनर्निर्माण गर्न १० करोड, देगु तलेजु ४ करोड, मसान चोक पुनर्निर्माणका लागि १ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ।

चीन सरकारले निर्माण गर्न लागेको नौ तले वसन्तपुर, भक्तपुर, ललितपुर र कीर्तिपुर टावरको बजेटहालसम्म छुटइइएको छैन। पुनर्निर्माणको काम शुरु गरेको विभागले करिब तीन वर्षभित्र अधिकांश सम्पदाको निर्माण सम्पन्न गर्ने दाबी गरेको छ।

हालसम्म १६ वटा सम्पदाको निर्माण प्रक्रिया शुरु भएको छ। भूकम्प गएको करिब एक वर्षपछि पुनर्निर्माण शुरु गरेको विभागले एक वर्षे र बहु वर्षीय योजनाअनुसार पुनर्निर्माण शुरु गरेको हो।

हनुमानढोका दरबार क्षेत्र विकास समितिको सहयोगमा विभागले पुनर्निर्माण शुरु गरेको हो। विभागले हनुमानढोका क्षेत्र परिसरमा रहेको च्यासी देगःतारिणीदेवी, कागेश्वर, महादेव मन्दिर, आगम मन्दिर, त्रैलोक्य मोहन नारायण, जगन्नाथ, कृष्ण महाविष्णु, नाटइ्ेश्वर, विष्णु मन्दिर, ठूलो नगरा, माजु देगः, काण्ठमण्डप मरु सत्तल, सिंह सत्तल, तलेजु र गद्दी बैठक पुनर्निर्माण गर्न लागेको हो। हाल हनुमानढोका क्षेत्रभित्र करिब दुई दर्जन सम्पदा आंशिक र पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।