तीन महिनामा नै बिग्रियो सोलार बत्ती

0
Shares

  • कमिसनका कारण नगरका सडक अन्धकार

नेपाल समाचारपत्र
सिन्धुली
कमलामाई नगरपालिका वातावरणमैत्री नगरपालिका निर्माण गर्ने उद्देश्यका साथ कमलामाई नगरपालिकाले नगर क्षेत्रमा जडान गरेको सोलार बत्ती तीन महिना पुग्न नपाउँदै बिग्रिएको छ।

उपभोक्ताको २० प्रतिशतसहित १६ लाख ७४ हजारको लागतमा सिन्धुलीमाडी बजारको स्टलबजार, १ नम्बर बजार, गैरीबजार र २ नम्बर बजारमा जडान गरिएको सोलार बत्ती तीन महिना नपुग्दै बिग्रिन थालेको स्थानीयले गुनासो गरेका छन्। वातावरण मैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत नगर क्षेत्रमा १८ ओटा सोलार बत्ती जडान गरिएको थियो।
२ नम्बर जारमा जडान गरेको ५ वटामध्ये एउटा पूर्णरूपमा बिग्रिएको र अरू राति ११ बजेसम्म मात्र बल्ने गरेको स्थानीय लक्ष्मण कर्माचार्यले जानकारी दिनुभयो। कमलामाई नगरपालिकालाई पटकपटक जानकारी गराएर बनाउन लगाउँदा पनि एक दुईदिन मात्र चल्ने गरेको कर्माचार्यले गुनासो गर्नुभयो।

१ नम्बर बजारमा जडान गरिएको ५ वटामध्ये २ वटा सोलार बत्ती पटकपटक बनाउँदा पनि नबलेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो। कुनै योजना, दक्ष जनशिक्तविना सडकमा लाखौंको सोलार बत्ती जडान गर्दा समस्या भएको श्रेष्ठले बताउनुभयो। ‘कमलामाई नगरपालिकासँग कुनै सोलार सम्बन्धी प्राविधिक ज्ञान छैन, एउटा बत्ती बिग्रिएमा महिनौं कुरेर बाहिरबाट प्राविधिक झिकाउनुपर्ने अवस्था छ, योजनाविना काम गर्दा उपभोक्तालाई सास्ती भइरहेको छ’ –श्रेष्ठले भन्नुभयो।

कमिसनका लागि कमसल सामग्री ल्याएका कारण सडक बत्तीमा समस्या आएको स्थानीयले गुनासो गरका छन्। सोलार बत्ती आएपछि सडकका बत्ती सबै हटिसकेको अवस्थामा सोलार बत्ती पनि बिग्रिएपछि स्थानीय व्यापारीलाई चिन्ता बढ्न थालेको छ। ‘१० बजेसम्म त मानिस निदाएका हँुदैनन्, बजे १० बजेपछि सडक बत्ती चाहिन्छ, त्यतिखेर नै सोलार बत्ती निभ्छ, हाम्रो सामग्रीको कसरी सुरक्षा हुन्छ?’ –एक व्यापारीले गुनासो गरे।

पेरेनियल इनर्जी प्रालि काठमाडौंले उपलब्ध गराएको सोलार बत्ती कमसल परेको कमलामाई नगरपालिकाले पनि स्वीकार गरेको छ। ठेक्का प्रक्रियाबाट पेरेनियल इनर्जी प्रालिले उपलब्ध गराएको केही सोलार सेट कमसल परेको ठेकेदार कम्पनीले नै स्वीकार गरेकाले फिर्ता गर्ने प्रक्रिया थालिएको कमलामाई नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत विनोदबाबु खकुरालले बताउनुभयो।

ठेकेदार कम्पनीले दुई वर्ष प्राविधिक सहयोग गर्ने, ४ वर्ष ब्याट्रीमा ग्यारेन्टी र २० वर्ष सोलारमा ग्यारेन्टी भएकाले नआत्तिन खकुरालले नगरबासीलाई आग्रह गर्नुभयो। ‘परीक्षण काल भएकाले केही समस्या आएको हो, केही समस्या देखा परेका छन्, यो समस्या हाम्रो होइन, ठेकेदार कम्पनीको समस्या हो’ –खकुरालले भन्नुभयो।