आठवटा स्थानीय निकायको चौतर्फी विरोध

0
Shares

नेपाल समाचारपत्र
सिन्धुली
नीय तह पुनर्संरचनाका लागि प्राविधिक सहयोग समितिले बुझाएको ८ वटा स्थानीय निकायको सिन्धुलीमा चौतर्फी विरोध हुन थालेको छ। सिन्धुली जिल्ला पहाडी जिल्लाका रूपमा मूल्यांकन गरी सोही अनुरूप पुनर्संरचना गरिनुपर्छ भन्दै विरोध हुन थालेको हो।

शुक्रबार वेलघारी भीमस्थान र बालाजोरका स्थानीयबासीले भीमस्थान, वेलघारी, जरायोटार, बालाजोर, बाहुनतिल्पुङ, महादेवडाँडा, लाम्पान्टार र आम्बोटो गाविस समावेश गरेर महाभारत गाउँपालिका बनाएकोमा आपत्ति जनाउँदै स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। स्थानीयले इलाका नं. ७ का गाविस मिलाएर तीनपाटन गाउँपालिका वा भीमस्थान र वेलघारीलाई कमलामाई नगरपालिकामा गाभ्न माग गरेका हुन्।

भूगोल र संरचनाको ख्याल नै नगरी अपायक पर्ने गरी संरचना गरिएकाले तत्काल सच्याउन माग गर्दै नसच्याए सो निर्णयका अवज्ञा गर्ने चेतावनीसमेत दिएको छ। स्थानीय निकाय पुनर्संरचना गर्दा जनताले सहज सुविधा प्राप्त गर्न सक्ने गरी गर्नुपर्नेमा माथिबाट नै तोकको आधारमा जनतालाई दीर्घकालीन असर पर्ने खालको निर्णय मान्य नहुने स्थानीय खेमराज दाहालले बताए।

यसअघि खोलागाउँ, भुवनेश्वरी, डुडभञ्जयाङ, पोखरी, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समिति समावेश गरेर फिक्कल नगरपालिका बनाउने निर्णयको विरोधमा भुवनेश्वरी डुडभञ्ज्याङ र पोखरीका स्थानीयले मध्यपहाडी राजमार्ग अवरोध गरेका थिए।

जिल्लाका राजनीतिक दलले सिन्धुलीलाई पहाडी जिल्ला कायम गरी १३ वटा इलाकालाई स्थानीय निकाय कायम गर्न वा कम्तीमा ९ वटा स्थानीय निकाय बनाउन समितिलाई सुझाव दिएको थियो। तर केन्द्रबाट ५ देखि ८ वटा मात्र स्थानीय निकाय बनाउन निर्देशन दिएपछि आयोगले तोकेको मितिभन्दा पछि स्थानीय तह पुनर्संरचनाका लागि प्राविधिक सहयोग समितिले ८ वटा स्थानीय निकाय सिफारिस गरेको थियो।